आज १९औँ गणतन्त्र दिवस मनाइँदै
काठमाडौँ: नेपालमा निरङ्कुश राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरणमा आज देशभर १९औँ गणतन्त्र दिवस भव्यताका साथ मनाइँदै छ।
तत्कालीन सात राजनीतिक दलको शान्तिपूर्ण जनआन्दोलन र नेकपा (माओवादी) को सशस्त्र सङ्घर्षको जगमा २०६५ साल जेठ १५ गते निर्वाचित पहिलो संविधानसभाको बैठकले २४० वर्ष लामो शाहवंशीय राजतन्त्रलाई बिदा गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। नागरिक सर्वोच्चता स्थापित भएको सोही ऐतिहासिक दिनको सम्मानमा हरेक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसका रूपमा मनाउने गरिन्छ।
गणतन्त्र दिवस मूल समारोह समितिले आज सैनिक मञ्च टुँडिखेलमा एक विशेष समारोहको आयोजना गरेको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष लगायत उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहनेछ। सो अवसरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तर्फबाट मार्चपास्ट र विभिन्न सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिनेछ।
दिवसका अवसरमा लोकतन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सङ्घर्ष, त्याग र बलिदान गर्ने अग्रजहरूको योगदानको स्मरण गरिँदैछ । गणतन्त्र केवल राजनीतिक व्यवस्था मात्र नभई यो एक उन्नत शासकीय पद्धति र जीवनशैली पनि हो। यसले नागरिकलाई शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र समानुपातिक समावेशी अधिकारको सुनिश्चितता प्रदान गरेको छ।
गणतन्त्रको १८ वर्ष पूरा भई १९औँ वर्षमा प्रवेश गरिरहँदा नागरिकका अपेक्षाहरू अझ बढेका छन्। राजनीतिक अधिकारको प्राप्तिपछि अब आर्थिक समृद्धि, सुशासन र नागरिकको जीवनस्तरमा सुधार ल्याउनु नै गणतन्त्रको मुख्य कार्यभार रहेको राजनीतिक विश्लेषकहरूको ठम्याइ छ। उत्पादन वृद्धि, रोजगारी प्रवद्र्धन र भ्रष्टाचारमुक्त प्रशासनमार्फत आम नागरिकलाई गणतन्त्रको वास्तविक महसुस गराउनु आजको आवश्यकता हो।