धनगढीमा विद्यालयका सफल अभ्यास आदानप्रदान
नारायण अवस्थी-शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयका सफल अभ्यास आदानप्रदान कार्यक्रम धनगढीमा सम्पन्न भएको छ। नेपाल शिक्षक महासंघ धनगढी नगर समितिको आयोजनामा विद्यालयका सफल अभ्यास आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो।
नेपाल शिक्षक महासंघ धनगढी नगर समितिका अध्यक्ष गङ्गारामा ओझाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख नृप बहादुर वड रहेका थिए। कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख वडले सबैको सार्थक पहल र प्रयासले शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउन सकिने बताए।
शिक्षकहरु मार्फत विद्यालय, विद्यार्थी र समुदायको क्षमता अभिबृद्धी गर्न नेपाल शिक्षक महासंघलाई उपमहानगरपालिका सबै किसिमको सहयोग गर्न तयार रहेको उनले बताए। विद्यालयका सफल अभ्यासहरुका माध्यमबाट अभिभावकका सपना, विद्यार्थीको क्षमता, र समुदायको चाहनासंगै राष्ट्रको आवश्यकता पूरा गर्न शिक्षक र विद्यालयहरुले पेशागत दक्षता अभिबृद्धी गर्दै स्रोत परिचालनमा ध्यान दिनुपर्ने कुरामा जोड दिईएको छ।
कार्यक्रममा बिपि प्राथमिक विद्यालयका प्रधानाध्यापक जयप्रकाश मिश्र, सरस्वती माबि मनेहराका शिक्षिका चन्द्रकला दवाडी, त्रिभुवन माबिका प्राचार्य सिताराम अवस्थी, ऐश्वर्य विद्या निकेतन माबिका प्राचार्य प्रेमनिधी ओझा, पन्चोदय माबिका प्राचार्य हरिश कुमार ओझा, धनगढी नमूना प्राबिधिक विद्यालयका प्राचार्य लक्ष्मण दत्त भट्ट, शारदा माबिका शिक्षिका राजकुमारी महतोले आ–आफ्नो विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयले अवलम्बन गरेका सफल अभ्यासहरु श्रब्य दृश्य सामाग्रीको माध्यमबाट प्रस्तुत गरेका थिए।
कार्यक्रममा नेपाल शिक्षक महासंघ कैलाली जिल्ला अध्यक्ष भिम बहादुर बलायार, नगर शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख महादेव जोशी लगायत धनगढी नगर क्षेत्रका विभिन्न विद्यालयका प्रधानाध्यापक र शिक्षक शिक्षिकाहरुको कार्यक्रममा सहभागिता रहेको थियो। राष्ट्रिय शिक्षक संगठनका नगर अध्यक्ष ज्ञानेन्द्र भट्टले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको संचालन शिक्षक गोरख नाथले गरेका थिए।