धनगढीमा भाटभटेनी आसपासका क्यामेरा म्यानको अराजकताबाट स्थानीय आजित
धनगढी: धनगढी उप-महानगरपालिका वडा नं. ३ मा अवस्थित भाटभटेनी सुपरमार्केट आसपासको क्षेत्रमा अनियन्त्रित रूपमा सञ्चालन भइरहेका क्यामेरा म्यानका कारण सार्वजनिक शान्ति र सुरक्षामा गम्भीर चुनौती थपिएको छ। सर्वसाधारणलाई सास्ती दिने र व्यावसायिक वातावरण बिगार्ने खालका हर्कत बढेपछि स्थानीय व्यवसायी तथा नागरिकहरू एकजुट भएर वडा कार्यालयको ढोका ढकढकाउन पुगेका छन्।
पछिल्लो समय सामाजिक सञ्जालका लागि भिडियो, ब्लग बनाउने र जथाभावी तस्विरहरू खिच्ने बहानामा सार्वजनिक स्थलहरूमा भीडभाड गर्ने र मर्यादा उल्लंघन गर्ने क्रम तीव्र रूपमा बढेको छ। यसै सन्दर्भमा, धनगढी-३ का स्थानीय बासिन्दा तथा व्यवसायीहरूले भाटभटेनी सुपरमार्केटभित्र र बाहिर सक्रिय रहेका क्यामेरा म्यानहरूको अराजक गतिविधि विरुद्ध वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा लिखित संयुक्त निवेदन दर्ता गराएका छन्। स्थानीयका अनुसार, यी गतिविधिहरू रमाइलोका लागि मात्र नभई सामाजिक सास्तीका रूपमा परिणत भइसकेका छन्।
सर्वसाधारणलाई हैरानी र सडक सुरक्षामा जोखिम
स्थानीय नागरिकहरूद्वारा पेश गरिएको उजुरी पत्रमा उल्लेख भए अनुसार, त्यहाँ कार्यरत क्यामेरा म्यानहरूले बाटो हिँड्ने सर्वसाधारण र विशेष गरी भाटभटेनी आउने ग्राहकहरूलाई अनावश्यक रूपमा दुःख र हैरानी दिने गरेका छन्। भिडियो वा फोटो खिच्ने बहानामा आधा सडक नै ओगटेर (ब्लक गरेर) सवारी साधनहरूको आवागमन अवरुद्ध पार्ने गरिएको छ। यसले गर्दा उक्त क्षेत्रमा सवारी दुर्घटनाको जोखिम अत्यधिक बढेको स्थानीयको ठहर छ। व्यस्त सडक खण्डमा यसरी गरिने अव्यवस्थित छायाङ्कनले कुनै पनि बेला ठूलो दुर्घटना निम्त्याउन सक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरिएको छ।
पसलभित्रै कुटाकुट र असुरक्षाको वातावरण
ती समूहहरूको उदण्डता कुराकानी र होहल्लामा मात्र सीमित नरहेर भौतिक झडपसम्म पुग्ने गरेको पाइएको छ। भाटभटेनी छेउका एक पसलेले आक्रोश र चिन्ता व्यक्त गर्दै भने,
"झगडा गर्दै एक दिन त उनीहरू मेरो पसलभित्रै छिरे। यहाँ एकदमै अराजकता भइरहेको छ। यो एक चोटी मात्र भएको होइन, यहाँ कैयौँ पटक उनीहरूबीच कुटाकुट भइसकेको छ।"
क्यामेरा म्यानहरूको यस्तो उग्र बानी र व्यवहारका कारण उत्पन्न हुन सक्ने सम्भावित प्रतिशोध र थप झमेलाको डरले गर्दा उक्त क्षेत्रका अधिकांश पसलेहरूले आफ्नो नाम गोप्य राख्न आग्रह गरेका छन्।
स्थानीय व्यवसायीको गुनासो र मिश्रित अनुभव
यस अराजकताको प्रत्यक्ष मारमा स्थानीय व्यवसायीहरू, विशेष गरी होटल तथा क्याफे सञ्चालकहरू परेका छन्। हंग्री क्याफेका सञ्चालक रिवाज शाहका अनुसार, ती क्यामेरा म्यानहरूले आ-आफ्नो समूह वा ग्याङ्ग बनाएर क्याफेभित्र र आसपास हुल बाँधेर बस्ने गरेका छन्। उनीहरूको यस्तो हर्कत र अमर्यादित व्यवहारका कारण क्याफेमा आउने नियमित ग्राहकहरूले असुरक्षित र असजिलो महसुस गर्ने गरेका छन्, जसले गर्दा व्यवसाय नै धराशयी हुने अवस्थामा पुगेको छ।
क्याफे सञ्चालक शाहले भने, "युवा केटाहरूले नयाँ प्रविधि प्रयोग गरेर व्यवसाय वा काम गरिरहेका छन् भनेर मैले सुरुमा राम्रो सोचेर सपोर्ट नै गरेको थिएँ। तर, अहिले आएर उनीहरूको गतिविधिले सीमा नाघेको छ र अवस्था निकै गाह्रो भएको छ। हाम्रो व्यवसाय र ग्राहक दुवैलाई असर परेपछि हामीले सम्बन्धित निकायमा उजुरी गरेर यसको स्थायी समाधान निकाल्न आग्रह गरेका छौँ।"
यस्तै, नाम नखुलाउने सर्तमा अर्का एक स्थानीय व्यवसायीले पनि आफ्नो पीडा पोखे,
"उनीहरू समूह बनाएर बस्छन्, असभ्य भाषा बोल्छन् र होहल्ला बढी गर्छन्। यस्तो वातावरणले गर्दा हाम्रा छोराछोरीहरूमा समेत नकारात्मक असर परिरहेको छ।"
कतिपय व्यवसायीहरूले उनीहरूका कारण व्यवसायमा केही सकारात्मक प्रभाव पनि परेको अनुभव सुनाएका छन्। एक व्यवसायीले थपे, "उनीहरूले गर्दा हामीलाई व्यवसायमा फाइदा पनि हुन्छ, कहिलेकाहीँ ग्राहक पनि ल्याइदिन्छन्। तर, उनीहरूबीच हुने झैझगडा र निरन्तरको होहल्लाले धेरै नै असजिलो बनाएको छ। त्यसैले सम्बन्धित निकायले ध्यान आकर्षण गरी यो समस्याको उचित र दीर्घकालीन समाधान गरिदियोस् भन्ने हाम्रो माग हो।"
कुलतको आशंका र तुरुन्त व्यवस्थापनको माग
त्यति मात्र नभई, ती समूहहरूमा जथाभावी हुटिङ गर्ने, भीड जम्मा गरेर अपशब्द वा अश्लील बोल्ने, र सार्वजनिक रूपमै झै-झगडा गर्ने प्रवृत्ति मौलाएको छ। अझ गम्भीर कुरा त, उक्त क्षेत्रमा लागुऔषधको सेवन तथा कारोबार समेत हुन थालेको आशंका स्थानीयले गरेका छन्। मनोरञ्जनको आवरणमा कुलत र आपराधिक मानसिकता भएका तत्वहरूको आश्रयस्थल बन्दै गएको भन्दै स्थानीयले गम्भीर आपत्ति जनाएका छन्।
यो समस्या दिनानुदिन बढ्दै गएपछि धनगढी उप-महानगरपालिका वडा नं. ३ को वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा लिखित निवेदन दिँदै स्थानीयले तुरुन्त कदम चाल्न अनुरोध गरेका छन्। उनीहरूले वडा अन्तर्गतका सम्पूर्ण संयन्त्र परिचालन गरी ती क्यामेरा म्यानहरूको गतिविधिमाथि कडा निगरानी राख्न, उनीहरूलाई उचित व्यवस्थापन गर्न वा सार्वजनिक शान्ति खलल पुर्याउने कार्य पूर्ण रूपमा बन्द गराउन माग गरेका छन्। डिजिटल स्वतन्त्रताको नाममा नागरिकको शान्तिपूर्वक बाँच्न पाउने र व्यवसाय गर्न पाउने अधिकार हनन हुन नदिन स्थानीय सरकारले कडा कानुनी कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले उजुरी पत्र आएको र दुवै पक्ष बिच छलफल गराउने तयारी गरीरहेको जानकारी गराएको छ।