सुदूर नेपाललाई विश्वसँग जोड्दै

असिनापानीले बैतडीमा तरकारी तथा अन्नबालीमा क्षति

तस्बिर: केशवराज भट्ट
तस्बिर: केशवराज भट्ट
२०८३ जेठ १३, ०९:१० खबर संवाददाता

बैतडीः बैतडीमा हावाहुरीसहित परेको असिनापानीले तरकारी तथा अन्नबालीमा क्षति पु¥याएको छ।

विशेषगरी जिल्लाको तल्लो स्वराड क्षेत्रमा बेमौसमी तरकारी खेती तथा उम्रिन लागेका मकै, भटमासलगायत अन्नबालीमा मङ्गलबार अपराह्न परेको असिनाले ठुलो क्षति गरेको भन्दै किसानहरूले चिन्ता व्यक्त गरेका छन्। मेलौली नगरपालिका–१, ४, ५, ६ र ७ नम्बर वडामा बढी क्षति भएको वडा नं. १ का अध्यक्ष शरदसिंह नेगीले बताए।

केही दिनमै गोड्ने तयारीमा रहेको मकै तथा फल्न लागेका टमाटरका बिरुवा असिनाले नष्ट गरिदिएको किसान चिन्तामणि भट्टले जानकारी दिए। धेरै मेहनत र लगानी गरेर लगाइएको मकैबाली असिनाले सखाप पारेपछि वर्षभरि मानिस र पशुचौपायालाई पुग्ने खेतीबालीमा ठुलो क्षति पुगेको किसान सुनिता दयालले बताए। 

मेलौली नगरपालिकाका अधिकांश क्षेत्रमा किसानहरूले लगाएको तरकारीका ब्याड, मकै, भटमास, खुर्सानी, भन्टालगायत बालीमा क्षति पुगेको स्थानीयवासीले बताएका छन्। उम्रिएर गोड्ने बेला भएको गहुँ र जौँबालीसमेत असिनाले नष्ट पारेपछि उत्पादन घट्ने चिन्तामा किसानहरू परेको वडा नं. ४ का अध्यक्ष कर्णबहादुर चन्दले बताए। जिल्लाभर कति क्षति भयो भन्ने पूर्ण विवरण भने अझै सङ्कलन हुन बाँकी रहेको छ। असिनापानीसँगै आएको हावाहुरीपछि बैतडीमा चिसोसमेत बढेको महसुस गरिएको छ।

कमेन्ट लोड गर्नुस