सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोकर्णेश्वरका तीन वडामा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन आग्रह

२०८३ जेठ १२, ०१:३६ खबर संवाददाता

काठमाडौं: गोकर्णेश्वर नगरपालिकाका वडा नम्बर २, ३ र ४ मा अत्यन्त संक्रामक तथा घातक मानिने बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

संक्रमण फैलिन नदिन नगरपालिकाले विशेष नियन्त्रण तथा रोकथाम अभियान सञ्चालन गरेको जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत रामनारायण मौलीका अनुसार प्रभावित क्षेत्रमा रहेका हाँस, कुखुरा, बट्टाई, टर्कीलगायत सबै चराचुरुङ्गी, तिनका अण्डा तथा दाना पूर्ण रूपमा नष्ट गर्ने कार्य भइरहेको छ।

संक्रमित क्षेत्रबाट रोग अन्यत्र फैलिन नदिन सुरक्षित व्यवस्थापन, नष्ट गर्ने कार्य तथा व्यापक डिसइन्फेक्सनलाई तीव्र पारिएको नगरपालिकाले जनाएको छ। बर्ड फ्लु चराचुरुङ्गीबाट मानिसमा समेत सर्न सक्ने उच्च जोखिमयुक्त रोग भएकाले नगरपालिकाले सर्वसाधारण तथा पोल्ट्री व्यवसायीका लागि विशेष निर्देशन जारी गरेको छ।

नगरपालिकाले पोल्ट्री फार्महरूमा अनावश्यक मानिस तथा सवारीसाधनको प्रवेश पूर्ण रूपमा रोक्न आग्रह गरेको छ। अत्यावश्यक अवस्थामा प्रवेश गर्नुपरेमा अनिवार्य रूपमा कडाइका साथ डिसइन्फेक्सन गर्नुपर्ने बताइएको छ।

त्यस्तै, एक फार्मका कामदारलाई अर्को फार्ममा जान रोक लगाइएको छ भने अण्डा राख्ने कागजी क्रेट पुनः प्रयोग नगर्न पनि सुझाव दिइएको छ।

फार्म सञ्चालकलाई जैविक सुरक्षा (बायोसेक्युरिटी) मा विशेष ध्यान दिन आग्रह गर्दै नगरपालिकाले पोल्ट्री फार्म तथा खोरको प्रवेशद्वारमा चुन वा डिसइन्फेक्टेन्टयुक्त फुटबाथ राख्न तथा छुट्टै बुट र एप्रोन प्रयोग गर्न निर्देशन दिएको छ।

साथै, फार्म परिसर दैनिक रूपमा निसंक्रमण गर्न र कुकुर, बिरालो तथा मुसाजस्ता जनावरलाई फार्म क्षेत्रमा प्रवेश गर्न नदिन पनि भनिएको छ।

सार्वजनिक स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै नगरपालिकाले मासु तथा मासुजन्य परिकार राम्ररी पकाएर मात्र उपभोग गर्न आग्रह गरेको छ। पोल्ट्रीजन्य सामग्री ढुवानी गर्दा अनिवार्य रूपमा पशु स्वास्थ्य प्रमाणपत्र लिनुपर्ने व्यवस्था गरिएको छ।

यदि फार्म वा घरमा ठूलो संख्यामा चराचुरुङ्गी अचानक बिरामी पर्ने वा मर्ने घटना भएमा जथाभावी फाल्न नहुने नगरपालिकाले जनाएको छ। त्यस्ता चराचुरुङ्गीलाई सुरक्षित रूपमा खाल्डोमा पुरेर तत्काल नजिकको स्थानीय तह, पशु सेवा शाखा वा भेटेरिनरी कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ।
 

कमेन्ट लोड गर्नुस