कैलालीमा प्रहरीका ३ इन्चार्ज फेरिए, विमानस्थलमा बमको कमान्ड
धनगढीः कैलालीमा प्रहरीले तीन ठाउँमा नयाँ इन्चार्ज खटाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी विमानस्थल, कैलाली कारागार र प्रहरी चौकी सत्तीमा नयाँ जिम्मेवारी तोकेको हो। धनगढी विमानस्थलका इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) मानबहादुर बिष्ट अनिवार्य अवकाशमा गएपछि उनको ठाउँमा वरिष्ठ सई राजेन्द्र बमलाई पठाइएको छ। बम यसअघि जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत थिए।
यस्तै, प्रहरी चौकी सत्तीका इन्चार्ज सई सुशील चन्दको जिल्ला प्रहरी कार्यालयमा सरुवा भएको छ। उनको स्थानमा कैलाली कारागारमा कार्यरत सई ऐनबहादुर पाललाई जिम्मेवारी दिइएको छ। त्यसैगरी, जिल्ला प्रहरी कार्यालयमा कार्यरत वरिष्ठ सई धनञ्जय मल्ललाई कैलाली कारागारको सुरक्षा प्रमुखको जिम्मेवारी दिइएको प्रहरीले जनाएको छ।