सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्यधिक गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय एक साता बन्द

२०८३ जेठ ११, ०१:४१ खबर संवाददाता

धनगढीः अत्यधिक गर्मीका कारण कञ्चनपुरका कृष्णपुर नगरपालिका र भीमदत्त नगरपालिकाभित्र सञ्चालित सामुदायिक तथा निजी विद्यालयहरू एक साता बन्द हुने भएका छन्। विद्यार्थीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै दुवै नगरपालिकाले यस्तो निर्णय गरेका हुन्।

भीमदत्त र कृष्णपुर नगरपालिकाले आइतबार सूचना जारी गर्दै अत्यधिक गर्मीका कारण नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरूमा जेठ १३ गतेसम्म स्थानीय बिदा दिइएको जानकारी दिएका छन्।

यसका साथै जेठ १४ गते बिहीबार बकर इद तथा जेठ १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा रहनेछ। त्यसपछि १६ र १७ गते शनिबार र आइतबार परेकाले लगातार सार्वजनिक बिदा पर्नेछ। यसरी विभिन्न बिदा जोडिँदा दुवै नगरपालिकाका विद्यालयहरूमा एक साताको बिदा हुने भएको हो।

कृष्णपुर नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीले गर्मी बिदाबाट कट्टी हुने गरी तीन दिन स्थानीय बिदा दिइएको जानकारी दिए।

कमेन्ट लोड गर्नुस