बालेन शाहले गणतन्त्र दिवसको मूल समारोहमा सम्बोधन नगर्ने
काठमाडौँः बालेन शाहले गणतन्त्र दिवसको मूल समारोहलाई सम्बोधन नगर्ने भएका छन्। उनले सो निर्णयको जानकारी राष्ट्रपति कार्यालयलाई दिइसकेका छन्।
गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै आएको छ। उक्त समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्षसहित विशिष्ट व्यक्तिहरूको सहभागिता रहने परम्परा छ। परम्पराअनुसार सो समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने चलन रहँदै आएको छ।
तर सार्वजनिक समारोहमा न्यून उपस्थिति जनाउँदै आएका बालेन शाहले गणतन्त्र दिवसको मूल समारोहमा पनि सम्बोधन नगर्ने निर्णय गरेका हुन्। स्रोतका अनुसार उनले उक्त समारोहलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गर्दै पत्राचारसमेत गरेका छन्।
‘गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा प्रधानमन्त्रीको सट्टा राष्ट्रपतिले सम्बोधन गरून् भन्ने आग्रहसहित पत्र पठाइएको छ,’ स्रोतले जनाएको छ।