हावाहुरी प्रभावित विद्यालयलाई निसर्ग अस्पतालको औषधि सहयोग
धनगढी: सामाजिक उत्तरदायित्व अन्तर्गत निसर्ग अस्पताल तथा अनुसन्धान केन्द्र प्रा.लि. ले डोटीको जोरायल गाउँपालिका–६ निरौलीस्थित श्री रघुनाथ माध्यमिक विद्यालय लाई अत्यावश्यक औषधि सहयोग गरेको छ।
गत वैशाख २० गते आएको हावाहुरीका कारण विद्यालयको छात्रावाससहित विभिन्न संरचनामा क्षति पुगेपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्य उपचारमा सहयोग पुग्ने उद्देश्यले अस्पतालले औषधि हस्तान्तरण गरेको जनाएको छ।
अस्पतालका अध्यक्ष तीर्थराज पन्त ले विपद्को समयमा शिक्षा र स्वास्थ्य क्षेत्रलाई सँगसँगै अघि बढाउन आवश्यक रहेको बताउँदै आगामी दिनहरूमा पनि विद्यालय तथा स्थानीय समुदायलाई आवश्यक सहयोग निरन्तर गरिने जानकारी दिए।
उनले सामाजिक सेवामार्फत दुर्गम क्षेत्रमा रहेका विद्यार्थी तथा नागरिकहरूको स्वास्थ्य सुरक्षामा सहयोग पुर्याउने उद्देश्यले निसर्ग अस्पताल निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे। साथै, विपद्का कारण प्रभावित विद्यालय तथा विद्यार्थीहरूको साथमा संस्थागत रूपमा निरन्तर उभिने बताए।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक धनबहादुर पुनमगर ले कठिन परिस्थितिमा विद्यालय र विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै सहयोग गरेकोमा निसर्ग अस्पताल परिवारप्रति धन्यवाद व्यक्त गरे। उनले यस्ता सामाजिक तथा मानवीय सहयोगले प्रभावित विद्यार्थीहरूलाई राहत पुग्नुका साथै समुदायमा सकारात्मक सन्देश प्रवाह भएको बताए।
स्थानीयवासीहरूले पनि विपद्को समयमा गरिएको सहयोगप्रति आभार व्यक्त गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत निसर्ग अस्पतालले गरेको कार्य प्रशंसनीय रहेको बताएका छन्।