सुदूरपश्चिम सरकारको बेरुजु ६० करोड, भौतिक पूर्वाधारमै आधा हिस्सा
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको कुल बजेटको झण्डै आधा हिस्सा विनियोजन हुने भौतिक पूर्वाधार विकास मन्त्रालयमै बेरुजुको पनि झण्डै आधा हिस्सा देखिएको छ।
महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनअनुसार सुदूरपश्चिम प्रदेश सरकारको कुल बेरुजु ६० करोड ४८ लाख ८९ हजार रुपैयाँ रहेकोमा भौतिक पूर्वाधार विकास मन्त्रालयकै बेरुजु २७ करोड ६६ लाख ३१ हजार रुपैयाँ पुगेको छ।
उक्त वर्ष प्रदेश सरकारको ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो, जसमा भौतिक पूर्वाधार विकास मन्त्रालयमा मात्र १४ अर्ब ५९ करोड ७८ लाख ८४ हजार रुपैयाँ विनियोजन गरिएको थियो। सो वर्ष प्रदेश सरकारको कुल ३९ अर्ब ४९ करोड ९१ लाख ५५ हजार रुपैयाँको लेखापरीक्षण गरिएको प्रतिवेदनमा उल्लेख छ।
अन्य मन्त्रालयमध्ये सामाजिक विकास मन्त्रालयमा २२ करोड १६ लाख १८ हजार रुपैयाँ र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा ४ करोड ६१ लाख ४२ हजार रुपैयाँ बेरुजु देखिएको छ।
प्रदेशका १५९ कार्यालयको लेखापरीक्षण गर्दा ५ करोड ४९ लाख ३३ हजार रुपैयाँ असुल उपर गर्नुपर्ने, ५० करोड ९ लाख ६७ हजार रुपैयाँ नियमित गर्नुपर्ने तथा ४ करोड ८९ लाख ८९ हजार रुपैयाँ पेश्की बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ।
हालसम्म सुदूरपश्चिम प्रदेशमा कुल ३ अर्ब ५४ करोड ८५ लाख ६८ हजार रुपैयाँ बेरुजु बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ।