सुदूर नेपाललाई विश्वसँग जोड्दै

युवाहरू परिवर्तनका संवाहक हुन् : मुख्यमन्त्री शाह

२०८३ जेठ ९, ०१:३२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले युवाहरूलाई परिवर्तनका प्रमुख संवाहकका रूपमा चित्रण गरेका छन्।

शनिबार धनगढीमा सुरु भएको 'सुदूरपश्चिम प्रदेश युवा सम्मेलन २०२६' को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले मुलुकमा भएका विभिन्न राजनीतिक तथा सामाजिक परिवर्तनहरूमा युवाहरूको भूमिका निर्णायक रहेको बताए। उनका अनुसार युवाहरूको सकारात्मक सोच, सक्रियता र प्रविधिमैत्री प्रयोगले लोकतान्त्रिक परिवर्तनलाई अघि बढाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।

उनले २००७ सालको क्रान्तिदेखि २०४६/४७ को जनआन्दोलन, २०६२/६३ को जनआन्दोलन हुँदै पछिल्लो जेन्जी पुस्तासम्म युवाहरूले लोकतन्त्र, गणतन्त्रको स्थापना, सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार न्यूनीकरणमा उल्लेखनीय योगदान गरेको उल्लेख गरे।

मुख्यमन्त्री शाहले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा युवाका आवाज समावेश गर्न प्रदेश सरकार सकारात्मक रहेको पनि स्पष्ट पारे। उनले डिजिटल युगमा युवालाई अवसरसँगै सचेतनाको आवश्यकता रहेकोमा जोड दिए।

कार्यक्रम गैरसरकारी संस्था महासंघ नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष देवीप्रसाद खनालको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रममा महासंघका केन्द्रीय उपमहासचिव किरण थापा र भवराज रेग्मी, युवा अभियानका अध्यक्ष योगेन्द्र काफ्ले तथा सुदूरपश्चिम प्रदेश युवा परिषद्का कार्यकारी सदस्य पृथ्वीबहादुर शाह लगायतको उपस्थिति रहेको थियो।

'यंग पिपुल कमिङ टुगेदर टु स्ट्रेन्थेन डिजिटल सिभिक स्पेस' भन्ने मूल नारासहित सुरु भएको दुई दिने सम्मेलनमा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाबाट युवाहरूको सहभागिता रहेको छ। सम्मेलन जेठ १० गतेसम्म सञ्चालन हुनेछ।

कमेन्ट लोड गर्नुस