सुदूरपश्चिम प्रदेश सभा बैठक भोली बस्ने
धनगढीः बजेट अधिवेशनको पहिलो बैठकपछि अनिश्चित समयका लागि स्थगित सुदूरपश्चिम प्रदेशसभाको बैठक भोली (शुक्रबार) बस्ने भएको छ।
प्रदेशसभा सचिवालयले जेठ ८ गते दिनको २ बजे प्रदेश सभाको बैठक बोलाएको हो। बैठकमा टीकापुर प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक टेबुल गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए। यसअघि, वैशाख १७ गतेबाट आठौं अधिवेशन सुरु भएको थियो।
अधिवेशनको पहिलो बैठकमा सभामुख भीमबहादुर भण्डारीले आठौं अधिवेशन आह्वानको लागि प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए। यसैगरी, दलका नेताहरुलाई समसामयिक विषयका साथै चालु अधिवेशनको सफलताको कामनासहित शुभकामना आदानप्रदानका लागि विशेष समय उपलब्ध गराइएको थियो।