सुदूर नेपाललाई विश्वसँग जोड्दै

आफ्नो निःशुल्क क्लाउड स्टोरेजको सीमा घटाउने गुगलको सङ्केत

२०८३ जेठ २, ०२:५३ खबर संवाददाता

काठमाडौँ: गुगलले आफ्नो निःशुल्क क्लाउड स्टोरेजको सीमा घटाउने सङ्केत गरेको छ । ‘एन्ड्रोइड अथोरिटी’को पछिल्लो रिपोर्ट अनुसार गुगलले अब नयाँ जिमेल अकाउन्ट खोल्ने प्रयोगकर्ताका लागि हाल दिँदै आएको १५ जीबी निःशुल्क स्टोरेजलाई घटाएर ५ जीबीमा सीमित गर्ने परीक्षण गरिरहेको हो ।

रिपोर्टका अनुसार यदि नयाँ प्रयोगकर्ताले ५ जीबीभन्दा बढी स्टोरेज प्रयोग गर्न चाहेमा आफ्नो फोन नम्बर भेरिफाई गर्नुपर्ने हुन्छ । फोन नम्बर उपलब्ध गराएपछि मात्र थप स्टोरेज क्षमता ‘अनलक’ हुने व्यवस्था गर्न लागिएको हो ।यस विषयमा गुगलका एक प्रतिनिधिले एन्ड्रोइड अथोरिटीसँग परीक्षणको पुष्टि गर्दै भनेका छन्, “हामी केही निश्चित क्षेत्रहरूमा नयाँ स्टोरेज नीतिको परीक्षण गरिरहेका छौँ । यसको मुख्य उद्देश्य प्रयोगकर्तालाई उच्च गुणस्तरको सेवा प्रदान गर्नुका साथै उनीहरूको खाताको सुरक्षा र डेटा रिकभरीलाई थप बलियो बनाउनु हो ।”

विश्लेषकका अनुसार फोन नम्बर अनिवार्य गर्दा एउटै व्यक्तिले धेरै खाता खोलेर स्टोरेज सुविधाको दुरुपयोग गर्ने कार्य रोकिन्छ । साथै यसले प्रयोगकर्ताको खातालाई थप सुरक्षित बनाउन मद्दत गर्छ । यद्यपि धेरैले यसलाई गुगलले प्रयोगकर्तालाई ‘गुगल वन’को सशुल्क प्लान लिन प्रोत्साहन गर्ने रणनीतिको रूपमा पनि हेरेका छन् ।

पुराना तर फोन नम्बर भेरिफाई नभएका अकाउन्टको हकमा के हुन्छ भन्ने जानकारी औपचारिक रूपमा बाहिर आएको छैन । हाल यो परीक्षण कुन-कुन देशमा भइरहेको छ भन्ने स्पष्ट छैन । एन्ड्रोइड अथोरिटीका अनुसार हाल ५ जीबी मात्रै स्टोरेज पाइने यस्ता अकाउन्ट मुख्यतया अफ्रिकी देशमा देखिएका छन् । सन् २००४ मा जिमेल सुरु हुँदा गुगलले १ जीबी स्टोरेज दिएर ईमेल प्रयोगको तरिका नै परिवर्तन गरिदिएको थियो । सन् २०१३ सम्म आइपुग्दा यो क्षमता बढेर १५ जीबी पुगेको थियो ।

विगतमा प्रयोगकर्तालाई आकर्षित गर्न निःशुल्क स्टोरेज बढाउँदै लगेको गुगलले अहिले भने आफ्नो बिजनेस मोडेल परिवर्तन गरिरहेको छ । विशेषगरी एआईको क्षेत्रमा तीव्र प्रतिस्पर्धा भइरहेको समयमा गुगलले आफ्ना सेवामा जेमिनाई एआईका फिचर समावेश गरी सशुल्क प्याकेज विस्तार गरिरहेको छ । हालै मात्र कम्पनीले एआई फिचरसहितको नयाँ टियर सार्वजनिक गरेको छ, जसमा प्रति महिना ८ डलर तिरेर २०० जीबीसम्म स्टोरेज पाउन सकिन्छ ।

कमेन्ट लोड गर्नुस