कैलाली र कञ्चनपुरमा अदालतबाट सजाय तोकिएका तीन जना पक्राउ
धनगढी: कैलाली र कञ्चनपुरमा अदालतबाट विभिन्न मुद्दामा कैद सजाय तोकिएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
कैलालीमा ‘चेक अनादर’ मुद्दामा जिल्ला अदालत कैलालीको फैसलाअनुसार दुई वर्ष कैद सजाय तोकिएकी धनगढी उपमहानगरपालिका–२ श्रीलङ्का टोल निवासी ३२ वर्षीया शान्ती देवी चौधरी लाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले उनलाई शुक्रबार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।
यस्तै, कञ्चनपुरमा ‘बहुविवाह’ मुद्दामा जिल्ला अदालत कञ्चनपुरको २०८० माघ २४ गतेको फैसलाअनुसार १ वर्ष २ महिना कैद सजाय तोकिएका कृष्णपुर नगरपालिका–२ बाणी निवासी ३० वर्षीय दिलु बादी र सोही स्थानकी २७ वर्षीया अन्नु सुनार लाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शुक्रबार वणी बजार क्षेत्रबाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेका तीनै जनालाई फैसला कार्यान्वयनका लागि सम्बन्धित अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।