सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ‘सुदूरपश्चिम कचहरी’ सुरु, मुख्यमन्त्री शाहले गरे उद्घाटन

२०८३ जेठ २, १२:०९ खबर संवाददाता

कैलाली: कैलालीको धनगढीमा दुईदिने ‘सुदूरपश्चिम कचहरी २०८३’ कार्यक्रम सुरु भएको छ। कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह ले गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सुदूरपश्चिम प्रदेशमा रहेका अपार सम्भावनालाई समृद्धिसँग जोड्न नीतिगत पहल आवश्यक रहेको बताए।

मुख्यमन्त्री शाहले कार्यक्रममा हुने बहस र छलफलबाट प्रदेश तथा संघीय सरकारलाई विकास र नीतिगत सुधारका लागि मार्गदर्शन मिल्ने विश्वास व्यक्त गरे। उनले सुदूरपश्चिमलाई आर्थिक तथा सामाजिक रूपमा सबल बनाउन साझा प्रयास आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रममा पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल ले प्रदेशमा पर्याप्त सम्भावना हुँदाहुँदै पनि अपेक्षित समृद्धि हासिल हुन नसकेको उल्लेख गर्दै यस्ता कार्यक्रमले विकासको नयाँ बहस सिर्जना गर्ने बताए। उनले सुदूरपश्चिमको सम्भावना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न यस्ता पहल प्रभावकारी हुने धारणा राखे।

पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य नरेश शाही ले कार्यक्रमको उद्देश्य सुदूरपश्चिमको स्वाभिमान र पहिचानलाई उजागर गर्नु रहेको बताए। उनका अनुसार शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, रोजगारी, पूर्वाधार, सुरक्षित आप्रवासन र सुशासनजस्ता विषयमा नीतिगत बहस गरी साझा विकास दृष्टिकोण तयार गरिनेछ।

कार्यक्रममा सहभागी विज्ञ, नीति निर्माता, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, सञ्चारकर्मी र नागरिक समाजका प्रतिनिधिबीच विभिन्न विषयमा छलफल हुनेछ। कार्यक्रममा उठेका सुझावहरू आगामी बजेट तथा नीति निर्माण प्रक्रियामा समावेश गर्न केन्द्र सरकारसमक्ष पठाइने आयोजकले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस