खाद्य विभागद्वारा करेन्ट चाउचाउ र ज्याक न्याक बिस्कुट बजारबाट फिर्ता गर्न आदेश
काठमाडौँ: नेपाल सरकारको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री भइरहेका दुई चर्चित खाद्य सामग्रीहरू गुणस्तरहीन पाइएको भन्दै तत्काल फिर्ता गर्न आदेश दिएको छ। विभागले गरेको नियमित बजार अनुगमन र प्रयोगशाला परीक्षणका क्रममा 'करेन्ट' ब्राण्डको चाउचाउ र 'ज्याक न्याक क्रेकर्स' ब्राण्डको बिस्कुट स्वास्थ्य मापदण्ड विपरीत पाइएका हुन्।
विभागका अनुसार रूपन्देहीस्थित यशोधा फुड्स प्रा. लि. ले उत्पादन गरेको १०० ग्रामको 'करेन्ट' नुडल्स (ब्याच नं. 04A) र सुनसरीको दुहबीस्थित एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रा. लि. द्वारा उत्पादित ७५ ग्रामको 'ज्याक न्याक क्रेकर्स' बिस्कुट (ब्याच नं. 6) मा समस्या देखिएको हो। प्रयोगशाला परीक्षणमा यी दुवै उत्पादनमा 'एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु' नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड भन्दा फरक पाइएको विभागले जनाएको छ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ (२) बमोजिम विभागले ती सामग्रीहरू बजारबाट तत्काल फिर्ता लिन र सोही ऐनको उपदफा (४) अनुसार अर्को आदेश नभएसम्म बिक्री-वितरण नगर्न निर्देशन जारी गरेको छ। उत्पादक कम्पनीहरूलाई यस विषयमा आधिकारिक पत्राचार समेत गरिसकिएको छ।
विभागले उपभोक्ताहरूलाई आफ्नो स्वास्थ्यको ख्याल गर्दै यी ब्याचका उत्पादनहरू खरिद नगर्न र यदि खरिद गरिसकेको भए प्रयोग नगर्न आग्रह गरेको छ। गुणस्तरहीन खाद्य सामग्री उत्पादन र बिक्री गर्नेलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत विभागले दिएको छ।