सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्माण व्यवसायीको आन्दोलन चर्किँदै, सुदूरपश्चिममा धर्ना र प्रदर्शन

२०८३ जेठ १, १२:०६ खबर संवाददाता

कैलाली: निर्माण क्षेत्रका समस्या समाधानमा सरकार उदासीन बनेको आरोप लगाउँदै निर्माण व्यवसायीहरूले देशव्यापी आन्दोलन सुरु गरेका छन् । इन्धन, निर्माण सामग्री, ढुवानी तथा श्रमिक खर्चमा भएको निरन्तर र अप्रत्याशित मूल्यवृद्धिले निर्माण क्षेत्र संकटमा परेको भन्दै व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन्।

नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वमा बिहीबारदेखि सुरु भएको आन्दोलन अन्तर्गत विभिन्न सरकारी निकायमा ज्ञापनपत्र बुझाउने, धर्ना दिने तथा विरोध प्रदर्शन गर्ने कार्यक्रम सञ्चालन गरिएको छ।

यसैक्रममा सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघले शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्ना दिँदै ज्ञापनपत्र बुझाएको छ । प्रदेश अध्यक्ष लक्ष्मण बहादुर स्वारको नेतृत्वमा भएको कार्यक्रममा निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष दीर्घराज जोशीलगायत व्यवसायीहरूको सहभागिता रहेको थियो।

व्यवसायीहरूले नाराजुलुससहित बजार परिक्रमा गर्दै निर्माण क्षेत्रका समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रदेश अध्यक्ष स्वारले निर्माण सामग्री, इन्धन, ढुवानी तथा श्रमिक लागतमा भइरहेको मूल्यवृद्धिका कारण निर्माण व्यवसाय धराशायी हुने अवस्थामा पुगेको बताए। उनले निर्माण व्यवसायीहरूको जायज मागप्रति सरकारले तत्काल पहल गर्नुपर्ने आवश्यकता औंल्याए।

यसअघि बिहीबार पनि देशभरका निर्माण व्यवसायीहरूले विभिन्न सरकारी कार्यालयमा ज्ञापनपत्र बुझाउनुका साथै धर्ना कार्यक्रम सञ्चालन गरेका थिए। माग सम्बोधन नभए आन्दोलनलाई अझ सशक्त बनाइने व्यवसायीहरूले चेतावनी दिएका छन्।
 

कमेन्ट लोड गर्नुस