अत्तरियामा कोल्ड स्टोर अलपत्र, बनेका संरचना जीर्ण अवस्थामा
अत्तरिया: निर्माण सुरु भएको २०७४ सालदेखि अलपत्र अवस्थामा रहेको अत्तरियाको कृषि उपज थोक बजारमा निर्माणाधीन कोल्ड स्टोर सञ्चालनमा नआउँदै जीर्ण बनेको छ।
संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा निर्माण सुरु गरिएको कोल्ड स्टोर लामो समयसम्म ट्रस्टमै सीमित रहँदा संरचना नै कमजोर बन्दै गएको हो। पछि प्रदेश सरकारले ९२ लाख रुपैयाँ खर्चेर उपकरण जडान गरे पनि आवश्यक काम पूरा नभएकाले कोल्ड स्टोर अझै सञ्चालनमा आउन सकेको छैन। चालु आर्थिक वर्षमा समेत ९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
तर हाल कोल्ड स्टोरमा चुहावट देखिनुका साथै ल्याब र प्यानलहरू समेत जीर्ण भइसकेका छन्। कृषि उपज थोक बजार व्यवस्थापन समितिका अध्यक्ष डिल्ली राज जोशीका अनुसार उपलब्ध बजेटले सञ्चालन सम्भव छैन। उनका अनुसार धमिराले प्यानल क्षति पुर्याएको र दोस्रो तलाको च्यानल तथा प्यानल फेर्नुपर्ने अवस्था छ।
यसैबीच कृषि विकास निर्देशनालय डोटीले प्राविधिक टोलीमार्फत आवश्यक संरचनाको अध्ययन गरिरहेको जनाएको छ। कृषि इन्जिनियर कोष राज बुढाका अनुसार प्राविधिक रिपोर्ट आएपछि मात्र आवश्यक सामग्री र लागतको स्पष्ट अनुमान हुने र त्यसपछि मात्र सञ्चालन प्रक्रिया अघि बढ्नेछ।
२०७४ सालमा करिब ९ लाख रुपैयाँ लागतमा फाउन्डेसन निर्माण गरिएको उक्त कोल्ड स्टोर पछि ३ सय मेट्रिक टन क्षमताको संरचना निर्माणका लागि ठेक्का सम्झौता गरिएको थियो। तर फाउन्डेसन र संरचनाबीच असन्तुलन, सामग्रीको कमी तथा निर्माण ढिलाइका कारण परियोजना अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।
चालु बजेट पनि अपुग भएको भन्दै सरोकारवालाहरूले थप बजेट र छिटो सञ्चालनका लागि दबाब दिइरहेका छन्। तर समयमै काम सम्पन्न नभए परियोजना पुनः अलपत्र पर्ने जोखिम देखिएको छ।