सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराकी लालचना शाही पाँच दिनदेखि बेपत्ता

२०८३ वैशाख ३१, ०४:४१ खबर संवाददाता

बाजुरा: बाजुराको जगन्नाथ गाउँपालिका–५ गोत्री निवासी ३६ वर्षीया लालचना बुढा शाही पाँच दिनदेखि बेपत्ता भएकी छन्।

परिवारका अनुसार वैशाख २६ गते राति श्रीमान् सकस बहादुर शाहीले मदिरा सेवनपछि जातीय विभेदजन्य गालीगलौज र कुटपिट गरेका थिए। त्यसको भोलिपल्टदेखि लालचना सम्पर्कविहीन भएको बताइएको छ।

माइती पक्षले घटना भएको चार दिनसम्म पनि परिवार वा प्रहरीलाई जानकारी नगराइएको आरोप लगाएको छ। वैशाख ३० गते मात्रै घटनाबारे जानकारी पाएपछि माइती पक्ष, स्थानीय र प्रहरीले खोजी कार्य सुरु गरेका हुन्।

परिवारका सदस्यहरूले यसअघि पनि लालचनामाथि पटक–पटक घरेलु हिंसा, कुटपिट र ज्यान मार्ने प्रयास भएको दाबी गरेका छन्। गत वर्ष भदौ २१ गते घाँस काट्न गएको बेला सकस बहादुर शाहीले निर्घात कुटपिट गरी खेतमा बेहोस अवस्थामा फालेको आरोप समेत लगाइएको छ। त्यस घटनापछि उपचार गराएर प्रहरीमा उजुरी दिइएको र पुनः हिंसा नगर्ने सहमति कागजसमेत भएको बताइएको छ।

माइती पक्षले निरन्तरको हिंसा सहन नसकी लालचनाले कर्णाली नदीमा हाम फालेको वा हत्या गरिएको हुनसक्ने आशंका व्यक्त गरेका छन्। उनीहरूले बाजुरा, कालिकोट तथा कर्णाली नदी आसपासका क्षेत्रमा खोजी कार्यमा सहयोग गर्न सर्वसाधारणसँग आग्रह गरेका छन्।

घटनामा संलग्न भएको आशंकामा सकस बहादुर शाहीलाई पक्राउ गरी निष्पक्ष अनुसन्धान गर्न परिवारले प्रशासनसँग माग गरेको छ।
 

कमेन्ट लोड गर्नुस