सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाकिस्तानको बन्नु जिल्लामा कार बम आक्रमण र गोलीबारीमा १२ प्रहरीको मृत्यु

२०८३ वैशाख २७, ०१:०३ रासस

पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा शनिबार राति भएको कार बम आक्रमण र त्यसपछि भएको गोलीबारीमा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

बन्नु जिल्लाको फतेह खेल क्षेत्रमा रहेको प्रहरी चौकीमा आक्रमणकारीले विस्फोटक पदार्थले भरिएको सवारीसाधन ठोक्काएर विस्फोट गराएको स्थानीय प्रहरी अधिकारीहरूले बताएका छन्। विस्फोटपछि केही सशस्त्र समूहका सदस्यहरूले चौकीमा प्रवेश गरी प्रहरीमाथि गोली चलाएको जनाइएको छ। बन्नु प्रहरीका एक अधिकारीका अनुसार घटनामा १२ प्रहरीको मृत्यु पुष्टि भएको छ भने एक जना अझै बेपत्ता छन्।

अधिकारीहरूले आक्रमणकारीहरूले भारी हतियारका साथै साना ड्रोनको समेत प्रयोग गरेको जानकारी दिएका छन्। प्रारम्भिक जानकारीअनुसार आक्रमणपछि फर्किने क्रममा आक्रमणकारीहरूले प्रहरीका हतियार र केही कर्मचारीलाई पनि लिएर गएको बताइएको छ।

बन्नु पछिल्ला वर्षहरूमा बढ्दो सशस्त्र गतिविधिबाट प्रभावित क्षेत्रको रूपमा रहँदै आएको छ। पाकिस्तान र अफगानिस्तानबीच सीमावर्ती क्षेत्रमा बढ्दो तनावका बीच यो आक्रमण भएको हो। इस्लामाबादले अफगान भूमिलाई केही समूहका लागि सुरक्षित आश्रयस्थल भएको आरोप लगाउँदै आएको छ भने काबुलले सो आरोप अस्वीकार गर्दै आएको छ।

पछिल्ला महिनाहरूमा दुवै देशबीच सम्बन्ध थप तनावपूर्ण बन्दै गएको र सीमावर्ती क्षेत्रमा हिंसात्मक झडपहरू समेत भएको उल्लेख गरिएको छ।
 

कमेन्ट लोड गर्नुस