कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा विपद् जोखिम न्यूनीकरणबारे सरोकारवालाबीच छलफल
धनगढी: कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा विपद् जोखिम न्यूनीकरण तथा नदी किनारका बासिन्दाका साझा सवाल पहिचान, समन्वय र सहकार्यका विषयमा सरोकारवालाबीच साझा छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा कर्णाली नदीको तल्लो तटीय क्षेत्रसँग सम्बन्धित विपद् जोखिम व्यवस्थापन, अन्तरपालिका समन्वय तथा सहकार्य विस्तारका विषयमा छलफल गरिएको थियो। स्थानीय तहबीच सहकार्य र समन्वयमार्फत साझा समस्यालाई प्रभावकारी रूपमा कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा सहभागीहरूले धारणा राखेका थिए।
छलफलमा सहभागी विभिन्न पालिकाका प्रतिनिधिहरूले यस्तो साझा मञ्चको आवश्यकता लामो समयदेखि महसुस हुँदै आएको उल्लेख गर्दै यसको सुरुवातलाई सकारात्मक कदमका रूपमा लिएका छन्।
लम्कीचुहा नगरपालिकाकी नगरप्रमुख सुसिला शाहीले साझा छलफल र सहकार्यको अभावका कारण धेरै विषय ओझेलमा परेको बताउँदै अब समन्वयमार्फत जनताका समस्या समाधानतर्फ अघि बढ्न सकिने विश्वास व्यक्त गरे।
जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले नेपाल जलस्रोतको दृष्टिले धनी देश भए पनि स्थानीय समुदायले त्यसको पर्याप्त लाभ लिन नसकेको बताउनुभयो। उनले नदीमा प्रशस्त पानी बगिरहे पनि माथिल्लो क्षेत्रका बासिन्दा खानेपानी र सिँचाइको समस्यामा रहेको उल्लेख गर्दै जलस्रोतलाई जनताको आवश्यकता पूर्तिसँग जोड्नुपर्ने धारणा राखे।
राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश चौधरीले यसअघि पनि यस्ता छलफल भए पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको स्मरण गर्दै यसपटक साझा सवालमा स्पष्ट कार्यदिशा तय गरिने बताए। उनले तटीय क्षेत्रका जनताको सरोकारलाई साझा मुद्दाका रूपमा उठाउँदै सहकार्य र सहअस्तित्वमार्फत समाधान खोजिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको सञ्चालन राजापुर नगरपालिका–५ का वडाध्यक्ष रमेश चौधरीले गर्नुभएको थियो भने प्राक्टिकल एक्सन नेपालका वरिष्ठ परियोजना अधिकृत चक्रबहादुर बमले कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए। कार्यक्रमको अध्यक्षता राजापुर नगरपालिकाका नगरप्रमुखले गर्नुभएको थियो।
कार्यक्रममा कर्णाली नदीको तल्लो तटीय क्षेत्रका ६ वटा पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विपद् सम्पर्क व्यक्ति, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका वन मन्त्रालयका प्रतिनिधि तथा प्राक्टिकल एक्सन र भेरी वातावरणीय विशिष्टता समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
छलफलपछि साझा सवालमा सहकार्य र समन्वयलाई प्रभावकारी बनाउन राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा कार्यदल गठन गरिएको छ। कार्यदलमा ६ पालिकाका प्रमुख प्रशासकीय अधिकृत, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका वन मन्त्रालयका प्रतिनिधि तथा सहयोगी संस्था प्राक्टिकल एक्सन र बि–ग्रुपका प्रतिनिधि सहभागी रहने जनाइएको छ।
उक्त कार्यदलले आगामी १० दिनभित्र कार्ययोजना तयार गरी पेश गर्ने सहमति भएको आयोजकले जनाएको छ।