कैलालीका वन क्षेत्रमा लागेको डढेलो वर्षासँगै निभ्यो, यस वर्ष क्षति कम
धनगढी: कैलालीको विभिन्न ठाउँमा वनमा लागेको डढेलो निभेको छ । प्रि–मनसुन सिजनमा विगत केही दिनयता वर्षा भएकाले वनमा लागेको डढेलो निभेको हो ।
चुरे क्षेत्रसहित तराईको मैदानी भूभागमा रहेको वनमा डढेलो लागेको थियो । लागेका डढेलोलाई आकाशे पानीले निभाएको जनाइएको छ । यसअघि पानी नपर्दै लागेको डढेलो भने वन क्षेत्रमा नोक्सान भएको छ ।
यद्यपि, यस वर्ष विगत वर्षको तुलनामा डढेलो वन क्षेत्रमा कम क्षति भएको डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ डिभिजनल वन अधिकृत डा. रामविचारी ठाकुरले जानकारी दिए।
“यस वर्ष डढेलोेले त्यति धेरै क्षति भएको छैन” उनले भने, “हामी सतर्क थियौं । पानीले पनि साथ दियौं।” चुरे लगायतका अन्य क्षेत्रमा लागेको डढेलो पछिल्लो समय परेको पानीले निभेको ठाकुरको भनाइ छ । तराई क्षेत्रका वनमा डढेलो निभाउन केही सहज हुने गरे पनि चुरे क्षेत्रमा भने समस्या हुने गरेको छ ।