बर्दियाको नेम्स क्लबले जित्यो छैटौँ निसर्ग हस्पिटल बर्का भजहर कप फुटबल प्रतियोगिता
धनगढी: कैलालीको कैलारी गाउँपालिकामा आयोजित छैटौँ निसर्ग हस्पिटल बर्का भजहर कप फुटबल प्रतियोगिता को उपाधि बर्दियाको नेम्स क्लब ले जितेको छ।
श्री युवा जनहित क्लब को आयोजनामा वैशाख १७ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेलमा नेम्स क्लबले आयोजक युवा जनहित क्लब लाई २–० को सहज जितसँगै च्याम्पियन बनाएको हो। विजेता नेम्स क्लबले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता आयोजक क्लबले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।
प्रतियोगिताको समापन कार्यक्रममा मुख्य अतिथि का रूपमा निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर, धनगढीका अध्यक्ष तिर्थ पन्त उपस्थित थिए भने विशिष्ट अतिथि का रूपमा कैलारी गाउँपालिका उपाध्यक्ष भगवती चौधरी रहिन्।
यस प्रतियोगिताको मुख्य प्रायोजक निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर, धनगढी रहेको थियो भने कैलारी गाउँपालिका मुख्य प्रवद्र्धकका रूपमा रहेका थिए। त्यस्तै, विभिन्न संघसंस्था र निजी व्यावसायिक फर्महरूले पनि प्रतियोगिता प्रवद्र्धनमा सहयोग गरेका थिए।
फुटबल प्रतियोगितासँगै, थारु समुदायको लोप हुँदै गएको मौलिक लोक पर्व र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले भजहर पर्वको अवसरमा थारु परम्परागत खेलहरू पनि आयोजना गरिएको थियो।
यो प्रतियोगिता समुदायमा खेलकुद प्रवद्र्धन गर्ने र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने लक्ष्यका साथ हरेक वर्ष आयोजना हुँदै आएको छ।