निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा दीर्घराज जोशी सर्वसम्मत, केही पदमा निर्वाचन हुँदै
धनगढीः निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा दीर्घराज जोशीसहित अधिकांश पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत रूपमा चयन भएका छन्।
संघका केन्द्रीय उपाध्यक्ष (सुदूरपश्चिम भूगोल) प्रकाश सेठीको अगुवाइमा भएको निरन्तर छलफलपछि अध्यक्ष जोशी, महासचिव बाहेकका सबै पदाधिकारी र ६ जना सदस्य बाहेकका कार्यसमिति सदस्य सर्वसम्मत चयन भएका हुन्।
सर्वसम्मत चयन हुने पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्षमा धिरेन्द्र साउद, प्रथम उपाध्यक्षमा बिक्रम बिष्ट, द्वितीय उपाध्यक्षमा डम्बर चन्द, नीतिगत उपमहासचिवमा योगेन्द्र बहादुर चन्द, आन्तरिक उपमहासचिवमा सिद्धराज भट्ट, कोषाध्यक्षमा सुरेन्द्र राज भट्ट तथा सह–कोषाध्यक्षमा मणिराज भट्ट चयन भएका छन्।
महासचिव पदका लागि जोशी प्यानलका अमरबहादुर खड्का र इन्जिनियर किरन रावलबीच प्रतिस्पर्धा भइरहेको छ। साथै दुवै समूहका ६ जना सदस्य कार्यसमिति सदस्य पदका लागि चुनावी प्रतिस्पर्धामा छन्।
हाल एक पदाधिकारीसहित कार्यसमितिका कुल ७ जना चयन गर्न मतदान प्रक्रिया जारी रहेको संघले जनाएको छ।