सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरी नगरपालिकाले विपद् कृत्रिम घटना अभ्यास आयोजना गर्दै

२०८३ वैशाख २४, १२:४० खबर संवाददाता

अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाले शुक्रबार वर्षायाममा आउन सक्ने विपद् सामना गर्ने तयारीका लागि नगरपालिका प्रांगणमै विपद् कृत्रिम घटना अभ्यास आयोजना गर्न लागिरहेको छ। यस अभ्यासले स्थानियबासीलाई विपद् व्यवस्थापनका उपाय र तयारीबारे जानकारी दिने उद्देश्य राखेको छ।

नगरपालिकाले यसअघि बिहिबार तयारी कार्यशाला आयोजना गरी विभिन्न सरोकारवालासँग छलफल गरेको थियो। कार्यक्रममा युएस वुमन, युएनडिपि, ह्यान्डिक्याप ईन्टरनेशनल, युनिसेफ लगायतका सुपर दोस्रो परियोजनाका साझेदारहरुले सहयोग गरेका थिए। कार्यशालामा विपद् व्यवस्थापनका सातवटा विषयगत क्षेत्रका प्रतिकार्य प्रणाली, समन्वय संयन्त्र र आपतकालीन सेवा प्रवाहबारे जानकारी दिइएको थियो।

नगरपालिकाका अनुसार शुक्रबारको अभ्यासमा नगरभित्र रहेका विभिन्न सामुदायिक संस्था र विद्यालयका करिब १५० विद्यार्थी तथा अन्य सरोकारवाला निकायका पदाधिकारीहरुको सहभागिता रहनेछ।

नगरपालिकाकी विपद् व्यवस्थापन शाखा प्रमुख सुलोचना खड्काले अभ्यासमा विपद् आउनुअघि अपनाउन सकिने तयारी र विपद् पश्चात गरिने क्रियाकलापबारे जानकारी दिइने जानकारी दिइन्। उनले भने, “यो कृत्रिम अभ्यासले मानविय जोखिम कम गर्ने, जोखिममा रहेका व्यक्तिहरुको सुरक्षा सुनिश्चित गर्ने, र व्यवस्थित व्यवस्थापन गर्ने नमुना प्रस्तुत गर्नेछ।”

कमेन्ट लोड गर्नुस