भारतीय केरा आयात रोकिँदा बागलुङमा स्थानीय केराले पायो राम्रो मूल्य
बागलुङः भारतीय केरा आयात रोकिएपछि बागलुङलगायत आसपासका क्षेत्रमा उत्पादित स्थानीय केराले राम्रो मूल्य पाउन थालेको छ। यससँगै किसानको बारीमै व्यापारी पुगेर केरा किन्ने क्रम बढेको छ।
बागलुङ नगरपालिका–१३ नयाँपुलका किसान लीलाधर जैसीको केरा बारीमा यतिबेला दैनिकजसो व्यापारीको चहलपहल देखिन्छ। स्थानीय जातका केराको माग बढेसँगै बागलुङ र कुश्मा बजारका व्यापारी स्वयं बारीमै पुगेर केरा काट्ने, गन्ती गर्ने र बोटको फेदमै पैसा बुझाउने गरेका छन्। पछिल्लो छ महिनायता किसानलाई बजार धाउनुपर्ने बाध्यता हटेको छ, जसले किसानलाई थप उत्साहित बनाएको छ।
पहिले जाडोमा प्रतिदर्जन ६० र गर्मीमा ७० देखि ८० रुपैयाँमा बिक्री हुँदै आएको केरा हाल प्रतिदर्जन १०० रुपैयाँसम्म पुग्न थालेको छ। बजारको झन्झट नहुने र बारीमै राम्रो मूल्य पाउँदा निकै खुसी लागेको लीलाधर जैसी बताउनुहुन्छ। नयाँपुल आसपासका क्षेत्रमा केरा किसानको मुख्य आम्दानीको स्रोत बन्दै गएको छ भने केराखेतीको विस्तार पनि तीव्र हुँदै गएको छ।
जैमिनी नगरपालिका–४ सर्कुवाका किसान ईश्वरीप्रसाद शर्माका अनुसार भारतीय र तराईको केरा आउँदा स्थानीय केरा बिक्री गर्न कठिन हुने गरेको थियो। तर पछिल्लो समय स्थानीय केराको माग उच्च भएकाले किसानले राम्रो मूल्य पाउन थालेका छन्। जैमिनी नगरपालिका–१ कुश्मीशेराका किसान मोतीप्रसाद शर्माले यस वर्ष अघिल्ला वर्षको तुलनामा केराको माग र मूल्य दुवै बढेको बताए।
परम्परागत रूपमा कोदो र मकै मात्र लगाइने बारीमा पछिल्लो समय केराखेती सुरु भएपछि किसानको दैनिकीमा सकारात्मक परिवर्तन आएको छ। कम मेहनतमा राम्रो आम्दानी हुने भएकाले बाँझो तथा खेतीयोग्य जमिनमा समेत केराखेती बढ्दै गएको छ। किसानहरूले गाईभैँसी पालेर मलको जोहो गर्ने र खानेपानीको सदुपयोग गर्दै सिँचाइ गर्ने गरेका छन्।
जैमिनी नगरपालिकाका कृषि प्राविधिक रविन्द्र शर्माका अनुसार यहाँ रामरेखे लोकल, मालबोक, मुङ्ग्रे, ध्रुसे, फुस्रे, जहाजी, चिनीकेरालगायत स्थानीय जातका केरा खेती हुँदै आएको छ। कसैले व्यावसायिक रूपमा खेती गरेका छन् भने कसैले थोरै बोटबाटै आम्दानी जोडिरहेका छन्।
बजारमा पनि स्थानीय केराको माग बढेको छ। विषादी प्रयोग नगरी पकाइने, स्वादिलो र लामो समय टिक्ने भएकाले उपभोक्ता र व्यवसायी दुवैका लागि स्थानीय केरा फाइदाजनक भएको बागलुङ बजारका व्यवसायी सागर सुवेदीले बताए। हाल बजारमा स्थानीय केरा प्रतिदर्जन १२० देखि १८० रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ।
पहिले दैनिक एक सय कार्टुनभन्दा बढी भारतीय केरा बागलुङ भित्रिने गरे पनि अहिले त्यो माग प्रायः स्थानीय केराले नै धानेको थोक व्यवसायी खिमबहादुर केसीले जानकारी दिए। स्थानीय केराले पूर्ण माग धान्न नसके पनि अभाव हुन नदिएको उनको भनाइ छ।
यसैबीच, स्थानीय सरकारले पनि केराखेती प्रवर्द्धनका लागि कार्यक्रम अघि सारेका छन्। जैमिनी नगरपालिकाले ‘शेरा जाउँ, केरा खाउँ’ अभियान सञ्चालन गरेको छ। किसानलाई बीउ, मल र बजारीकरणमा सहयोग गर्दै आएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए।