कृषकका समस्या समाधान गर्न कृषि मन्त्री चौधरीसमक्ष मागपत्र
धनगढीः धनगढी नगर भलमन्सा समितिले कैलाली र कञ्चनपुरका कृषकले भोगिरहेका समस्या समाधान गर्न कृषि तथा पशुपन्छी विकास एवम् वन तथा वातावरण मन्त्री गीता चौधरीसमक्ष मागपत्र बुझाएको छ।
समितिका अध्यक्ष रोहित चौधरीले किसानहरूको तर्फबाट मन्त्री चौधरीलाई मागपत्र हस्तान्तरण गर्दै सहुलियत दरमा समयमै मलखाद र इन्धन उपलब्ध गराउन, कृषि उपकरण सहुलियतमा प्रदान गर्न, किसानले उत्पादन गरेको वस्तुको खरिद समर्थन सुनिश्चित गर्न तथा उचित भण्डारणको व्यवस्था मिलाउन माग गरेका छन्। साथै, छाडा चौपायाको व्यवस्थापन गर्न पनि समितिले सरकारको ध्यानाकर्षण गराएको छ।
मागपत्र बुझ्दै मन्त्री चौधरीले कृषकका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताइन्। रासायनिक मलको अत्यधिक प्रयोगले माटोको अवस्था बिग्रँदै गएको उल्लेख गर्दै उनले सरकारले माटो परीक्षण (जाँच) कार्यक्रम अघि बढाएको जानकारी दिइन्। साथै, बाँझो जग्गाको उपयोगबारे अध्ययन र अनुसन्धान गरेर आवश्यक नीति तथा कार्यक्रममार्फत अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।