सबै दलको सहभागिता सुनिश्चित गर्न ‘बजेट सुझाव समिति’ गठन गरौं : मुख्यमन्त्री शाह
धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बजेट निर्माण र प्रभावकारी कार्यान्वयनका लागि सबै राजनीतिक दलको सहभागितामा ‘बजेट सुझाव समिति’ गठन गर्नुपर्ने बताएका छन्।
आर्थिक वर्ष २०८३/०८४ को बजेट तयारीका क्रममा मंगलबार धनगढीमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले प्रदेशभर समानुपातिक बजेट वितरण गर्ने प्रतिबद्धता जनाउँदै सबै दलको प्रतिनिधित्व हुने समिति आवश्यक रहेको बताए।
उनले नेपाली काँग्रेस संसदीय दलले प्रमुख सचेतक बिक्रम सिंह धामीको संयोजकत्वमा तीन सदस्यीय बजेट सुझाव समिति गठन गरिसकेको जानकारी दिए। उक्त समितिमा गीता कुमारी चौधरी र पदम बहादुर शाही सदस्य रहेका छन्।
मुख्यमन्त्री शाहले ऐतिहासिक तथा धार्मिक–पर्यटकीय स्थललाई प्राथमिकतामा राखी योजना बनाउन शिवराज भट्टलाई निर्देशन दिएका छन्। साथै, कोटेशनमार्फत कुनै पनि कार्यक्रम कार्यान्वयन नगर्न र त्यस्तो कार्यमा संलग्नलाई कारबाही गर्न बैकण्ठ अर्याललाई निर्देशन दिएका छन्।
उनले प्रदेश सरकारले २५ लाख रुपैयाँभन्दा कम लागतका योजनामा बजेट नदिने स्पष्ट पार्दै उपभोक्ता समितिमार्फत योजना कार्यान्वयन नगर्ने नीति पनि अघि सारे।
कार्यक्रममा सहभागी प्रदेशसभा सदस्यहरूले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनजस्ता क्षेत्रमा प्राथमिकतासहित पर्याप्त बजेट विनियोजन गर्न तथा दीगो विकासका योजनामा जोड दिनुपर्ने सुझाव दिएका थिए।