धनगढीका ६ होटल सञ्चालकविरुद्ध अनैतिक धन्दा गराएको अभियोगमा मुद्दा
धनगढीः धनगढीमा होटल सञ्चालनको आडमा अनैतिक गतिविधि गराएको आरोपमा ६ वटा होटलका सञ्चालकविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ। शुक्रबार प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयले धनगढीका विभिन्न स्थानमा रहेका होटलहरूमा छापा हानेर ३० जनालाई नियन्त्रणमा लिएको थियो।
नियन्त्रणमा परेकामध्ये होटलका कर्मचारी र ग्राहकलाई आवश्यक सोधपुछपछि छाडिएको छ भने होटल सञ्चालकविरुद्ध मानव बेचबिखन तथा अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार किटानी जाहेरी परेका होटल सञ्चालकविरुद्ध मानव बेचबिखनको मुद्दा र जाहेरी नपरेकाको हकमा तत्काल अभद्र व्यवहारसम्बन्धी मुद्दा दायर गरिएको हो।
अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा धनगढी उपमहानगरपालिका–१, ३, ७ र ८ मा रहेका होटलहरूमा छापा हानिएको थियो। सो क्रममा अनैतिक क्रियाकलापमा संलग्न रहेको तथा त्यस्तो कार्य गर्न प्रेरित गरेको अभियोगमा १७ महिला र १३ पुरुष गरी ३० जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ब्ल्याक स्टोन कटेजबाट ७ जना, सम्झना होटलबाट ४ जना, ए.एम. एण्ड ए होटलबाट ५ जना, प्रिन्स होटलबाट ५ जना, कर्णाली होटलबाट ६ जना र एभरेष्ट होटलबाट ३ जना नियन्त्रणमा परेका थिए।
यी सबै होटलका सञ्चालकविरुद्ध मुद्दा दायर गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पाँच होटलका सञ्चालक प्रहरी नियन्त्रणमा रहेका छन् भने ब्ल्याक स्टोन कटेजका सञ्चालक फरार रहेका छन्। फरार सञ्चालकको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।