कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित ३ जना पक्राउ
धनगढीः कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित ३ जना पक्राउ परेको छन्।
कैलालीबाट २ जना र कञ्चनपुरबाट १ जना गरी ३ जनालाई प्रहरीले ३ ग्राम १० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको संयुक्त टोलीले टीकापुर नगरपालिका–९ खक्रौलाबाट १ ग्राम ६९० मिलिग्राम खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–१ का २० वर्षीय लक्ष्मण शाही र सोही स्थानका २६ वर्षीय प्रकाश रिमाल रहेका छन्। भारतबाट नेपालतर्फ आउँदै गरेको से ५ प ४४४० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले लागूऔषधसहित मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।
त्यस्तै, इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको टोलीले बेलौरी नगरपालिका–७ पौलाहाबाट १ ग्राम ४१० मिलिग्राम खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१३ राजपुरका १९ वर्षीय जनक राम राना रहेका छन्। भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा उनको साथबाट उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।