सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरपालिकाले सुदूरपश्चिम चिनाउने अभियान जारी राख्ने

२०८३ वैशाख १८, ०६:१९ नारायण अवस्थी

धनगढी: “हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ” अभियान निरन्तर चलाइने भएको छ। अभियानअन्तर्गत धनगढी उपमहानगरपालिकाको टोली बैशाख १४ गते अपि बेसक्याम्पका लागि प्रस्थान गरेको थियो। सुदूरपश्चिमका पर्यटकीय सम्भावनाहरू उजागर गर्ने उद्देश्यसहित सञ्चालन गरिएको उक्त अभियानमा सहभागी भएका नगर प्रमुख गोपाल हमाल भने स्वास्थ्य समस्याका कारण बीचमै धनगढी फर्किएका हुन्।

मस्तिष्कघात (ब्रेन स्ट्रोक) बाट प्रभावित भई हाल उपचाररत रहेका कारण चिकित्सकको सल्लाहअनुसार दुई हजार मिटरभन्दा माथिको उचाइमा नजान निर्देशन दिइएकाले नौपाटा भन्ने स्थानबाट उपमहानगरको टोलीलाई बेसक्याम्पका लागि बिदाइ गरेर धनगढी फर्कनु परेको नगर प्रमुख हमालले बताए।

उनले चिकित्सकको सल्लाहलाई ध्यानमा राख्दै दुई हजार १३० मिटर उचाइसम्म मात्र पुगेर अपि हिमाल गाउँपालिकाको नौपाटाबाटै टोलीलाई बेसक्याम्पतर्फ बिदाइ गरेर फर्किएको बताए।
स्वास्थ्य अवस्थालाई प्राथमिकता दिँदै उनी बिहीबार साँझ धनगढी फर्किएका हुन्। आगामी बैशाख २१ गते फलोअप उपचारका लागि भारतको दिल्ली जानुपर्ने कार्यक्रम रहेकाले पनि बीचमै फर्कनु परेको उनले बताए।

यसैबीच, दिल्लीबाट उपचारपछि फर्किएपछि अभियानलाई निरन्तरता दिइने जानकारी दिइएको छ। अभियानअन्तर्गत बैशाख ३१ गते रामारोशन भ्रमण गर्ने र त्यसपछि बाजुराको बाटो हुँदै सैपाल बेसक्याम्प तथा रानीसैन क्षेत्रसम्म पुग्ने योजना रहेको नगर प्रमुख हमालले बताए।

“हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ” अभियानले प्रदेशका प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। यो अभियानलाई निरन्तर चलाउने योजना छ। अभियान ८८ वटै स्थानीय तहमा पुगाउने मेरो लक्ष्य छ," नगर प्रमुख हमालले भने।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस