ऐरिको शतकमा नेपालले युएईलाई दियो २९० रनको चुनौती
काठमाडौँ: दीपेन्द्रसिंह ऐरिको शतकीय पारीको सहयोगमा आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई २९० रनको चुनौती दिएको छ।
र्कीतिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २८९ रनको बलियो योगफल खडा गरेको हो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै ९४ बलमा १३ चौका र एक छक्काको मद्दतमा १०० रनको शानदार शतक प्रहार गरे। उनी अन्तिम बलमा रनआउट भए।
मध्यक्रमका ब्याटर गुल्शन झाले ३८ बलमा ४४ रन जोडे। ओपनर विनोद भण्डारीले संयमित इनिङ्स खेल्दै ७९ बलमा ५६ रन बनाए भने कप्तान रोहित पौडेलले ४८ बलमा ३९ रनको योगदान दिए। अर्जुन कुमालले ११ रन बनाउँदा भीम सार्कीले खाता नै खोल्न सकेनन्। आरिफ शेखले ११ रन थपे।
नेपालले सुरुआती ओभरमा केही दबाब झेले पनि मध्यक्रममा ऐरी र भण्डारीबीचको साझेदारीले इनिङ्स सम्हालेको थियो।
युएईका लागि जुनैद सिद्दीकी र अजय कुमारले समान दुई–दुई विकेट लिए भने हैदर अली र खुजैमा तनवीरले एक–एक विकेट हात पारे। युएई अहिले जवाफी ब्याटिङमा उत्रेको छ।