राधाकृष्ण मावि गोपघाटमा होस्टेल भवनको शिलान्यास
डोटी: डाेटी जिल्ला स्थित राधाकृष्ण माध्यमिक विद्यालय, गोपघाटलाई प्रदेश नमूना विद्यालयका रूपमा विकास गर्ने कार्यक्रम अन्तर्गत होस्टेल भवन निर्माणको शिलान्यास गरिएकाे छ।
आर्थिक वर्ष २०८२/८३ को कार्यक्रम अनुसार विद्यालयमा निर्माण हुन लागेको ६ कोठे होस्टेल भवनको शिलान्यास बुधबार सम्पन्न गरिएको हो।
शिलान्यास कार्यक्रम शिखर नगरपालिकाका प्रमुख दिर्घ बहादुर बलायरको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा बोल्दै नगरप्रमुख बलायरले शिक्षा क्षेत्रको पूर्वाधार विकासलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै नमूना विद्यालय निर्माणले शैक्षिक गुणस्तर सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
उक्त अवसरमा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो। होस्टेल भवन निर्माणपछि टाढा–टाढाबाट अध्ययन गर्न आउने विद्यार्थीहरूलाई आवासीय सुविधामा सहजता हुने अपेक्षा गरिएको छ।