सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको पहिलो केबलकार : धमाधम काम हुँदै

तस्बिर : चाँदनी आचार्य
तस्बिर : चाँदनी आचार्य
२०८३ वैशाख १५, ०४:४४ खबर संवाददाता

कैलालीः सुदूरपश्चिम प्रदेशको पहिलो केबलकारको रूपमा जाल्पादेवी केबलकार निर्माण कम्पनीले निर्माण गर्न थालेको चिसापानी–राजकाँडा केबलकारको काम धमाधम भइरहेको छ । 

२०८२ साल पुसदेखि सुरु भएको केबलकारको बेसको काम सकिएर पिलर राख्नेकाम भइरहेको छ । १४ वटा पिलर र ३४ वटा गोन्दुला  फिट गर्नुपर्नेमा अहिले ३ वटा पिलर लगाउने काम सकिएको छ ।

केबलकार सञ्चालक सूर्यबहादुर थापाले असारसम्म नभए दशैं सम्ममा केबलकार सञ्चालनमा आउने बताए। उनले वैशाखमा सञ्चालनमा ल्याउने पूर्व तयारी भए पनि आफू बिरामी भएर चार महिना भारतमा औषधी उपचारमा बस्नु परेको र चुनावका कारण दुई महिना ढिला हुन गएको बताए। 

राजकाँडामा केबलकारसँगै मालिका मन्दिर निर्माण, चमेना गृह, टिकट घर, बाटो निर्माण लगायत काम पनि धमाधम भइरहेको छ । धेरै ठेकेदारले काम लिएकाले पनि काम फटाफट भएको देखिन्छ । 
सञ्चालक थापाले आठ जना ठेकेदारले अलग–अलग कामको ठेक्का लिइ काम गरेको जानकारी दिए। मालिकादेवी मन्दिर निर्माणको लगभग पचास प्रतिशत काम सकिएको छ । मन्दिर जाने बाटोमा ढुङ्गाको छपनी लगाएर आकर्षक बाटो निर्माण भइरहेको छ । 

जल्पादेवी केबलकार कम्पनीले २० विघा जमिन केबलकार सञ्चालनका लागि आफ्नो नाममा लिइ उक्त क्षेत्रका रुख कटान प्रक्रिया पूरागरी केबलकारको काम सुरु गरेको हो । आइएमी समूहका अध्यक्ष एवम् नेपाल उधोग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालको ७५ प्रतिशत लगानी तथा कैलाली लम्कीका व्यवसायी सूर्यबहादुर थापाको २५ प्रतिशत लगानीमा केबलकारको काम अगाडि बढेको हो ।

सञ्चालक थापाले सुदूरपश्चिमको पहिलोे केबलकारको रूपमा जाल्पादेवी केबलकार रहेको जनाउँदै यसको लम्बाई ३१ मिटर लामो रहेको बताए। पाँच अर्ब लागतमा केबलकार निर्माणले पूर्णता पाउने भएको हो । व्यवसायी थापाले अनुमानित लागत रकम बढ्न पनि सक्ने बताए। 

केबलकारको टप र बटम स्टेसनमा आवश्यक भौतिक संरचना निर्माणको काम भइरहेको छ । केबलकार सञ्चालनले मोहन्याल गाउँपालिका–७ मा रहेको ऐतिहासिक धुलिकोट दरबारसँग जोडिएका महत्त्वपूर्ण कुराहरूको अवलोकन र प्रचार प्रसारमा सहयोग पुग्नुका साथै स्थानीयको आर्थिक अवस्थामा सुधार आउने अपेक्षा गरिएको छ ।

राजकाँडामा होटल व्यवसाय सञ्चालन गर्नुभएका खेम खत्रीले केबलकार सञ्चालनमा आएपछि होटल व्यवसाय राम्रै चल्ने विश्वास व्यक्त गरे। उनले अहिले पनि तराईको गर्मी छल्न र यहाँबाट देखिने मनोरम दृष्य अवलोकनका लागि पर्यटकहरू आउने गरेको बताए।  

राजकाँडामा खानेपानी र बिजुली बत्तीको समस्या छ । केबलकार सञ्चालनमा आएपछि उक्त समस्या समाधान हुने आशा स्थानीयले लिएका छन् । सञ्चालक थापाले राज्यको शुन्य लगानीमा निजी क्षेत्रले सञ्चालनमा ल्याउने केबलकारसँगै बाटोघाटो, खानेपानी, बिजुलीबत्तीको विकास पनि सँगसँगै हुने जानकारी दिए। 

२०८२ साल वैशाखमा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवाले केबलकारको शिलान्यास गर्नुभएको थियो । मालिका मन्दिर निर्माण सम्पन्न भएपछि भारत सरकार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथद्वारा उद्घाटन गराउने तयारी रहेको समेत जनाइएको छ । (गाेरखापत्र) 
 

कमेन्ट लोड गर्नुस