सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

२०८३ वैशाख १३, ११:५५ खबर संवाददाता

कैलाली: कैलाली जिल्लाका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्लाको टीकापुर नगरपालिका–१, ब्लक नम्बर १२ बाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय २० मिलिग्रामसहित सोही ठाउँ बस्ने १९ वर्षीय बिशाल कुँवरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएको जनाएको छ।

यसैगरी, भजनी नगरपालिका–३, मोहनपुरबाट पनि खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ५ ग्राम २१० मिलिग्रामसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत, उत्तर प्रदेश, रननगर खिरी, बनविरपुर बस्ने ३४ वर्षीय गुरमुख सिंह रहेका छन्।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको यूपी ३१ सीई ५३४८ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी मोटरसाइकलसहित उनलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस