सुदूर नेपाललाई विश्वसँग जोड्दै

दानसाँगु खोलामा पुल निर्माणपछि कुण्डाबासीको समस्या हट्दै

तस्बिर: शेरबहादुर सार्की
तस्बिर: शेरबहादुर सार्की
२०८३ वैशाख १२, ०३:४६ खबर संवाददाता

बाजुराः बाजुराको पूर्वोत्तर क्षेत्रका कुण्डाबासीले दानसाँगु खोलामा ज्यान जोखिममा राखेर वारपार गर्नुपर्ने समस्या अब अन्त्य हुने भएको छ।

मार्तडी–कोल्टी सडक खण्डको बिचमा पर्ने उक्त खोलामा लामो समयदेखि पुल नहुँदा स्थानीयलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समेत कठिनाइ हुँदै आएको थियो। गत मंसिर ४ गते जडाङ्गा खोलाको बेलिब्रिज दानसाँगुमा स्थानान्तरण गर्ने निर्णयअनुसार सोही खोलाको पुल यहाँ ल्याएर जडान गर्ने काम सुरु गरिएको हो।

अहिले निर्माण कार्य तीव्र गतिमा अघि बढेपछि कुण्डाबासीले वर्षायाममा पनि सहज रूपमा आवतजावत गर्न सक्ने अपेक्षा गरिएको छ। बुढीनन्दा नगरपालिका–२ का स्थानीय दीपक विकले दानसाँगु खोलामा पुल निर्माण कार्य तीव्र भएपछि बुढीनन्दा, हिमाली, स्वामिकार्तिक र जगन्नाथ गाउँपालिकाका स्थानीयलाई समेत ठूलो सहजता हुने बताए।

उनले भने, “मार्तडी–कोल्टी सडकको सबैभन्दा ठूलो समस्या दानसाँगु खोलामा पुल नहुनु हो। लामो समयदेखि पुल नबन्दा स्थानीयले निकै सास्ती भोग्दै आएका थिए। अहिले पुल निर्माण अन्तिम चरणमा पुगेकाले केही आशा पलाएको छ।”

पुस्तौँदेखि दुःख भोग्दै आएका कुण्डाबासीले यस वर्ष भने सहज रूपमा खोला वारपार गर्न सक्ने भएका छन्। हाल पुल निर्माण करिब ९५ प्रतिशत सम्पन्न भइसकेको र स्थानीयमा ठुलो आशा जागेको विकले बताए।

सडक डिभिजन कार्यालय अछामका इन्जिनियर सुभाष साहका अनुसार जडाङ्गा खोलाको बेलिब्रिज दानसाँगुमा स्थानान्तरण गर्न डिडिए/जनकल्याण जेभीसँग दुई करोड २० लाख रुपियाँमा सम्झौता गरिएको छ। “निर्माण कार्य अन्तिम चरणमा पुगेको छ, छिट्टै पुल सञ्चालनमा आउनेछ,” उनले बताए। 

बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनकबहादुर बोहराले जडाङ्गा खोलाको बेलिब्रिज दानसाँगु ल्याउन लामो प्रयास गरिएको बताए। उनका अनुसार त्यहाँको विवादका कारण पुल स्थानान्तरणमा केही ढिलाइ भएको थियो।

उनले भने, “अहिले पुल निर्माण अन्तिम चरणमा पुगेको छ। पुल सञ्चालनमा आएपछि यहाँका स्थानीयको लामो समयदेखिको समस्या समाधान हुनेछ।” यसअघि कुण्डाबासीलाई नागरिकता बनाउन मार्तडी जानुपर्ने, दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या हुने जस्ता कठिनाइहरू रहेका थिए। अब दानसाँगु खोलामा पुल निर्माण र अन्य प्रशासनिक सेवा नजिकै उपलब्ध भएपछि स्थानीयको समस्या धेरै हदसम्म समाधान हुने नगर प्रमुख बोहराले बताए।

कमेन्ट लोड गर्नुस