प्रदेश युवा सञ्जालद्वारा सुदूरपश्चिमका समस्या समाधानप्रति सरकारको ध्यानाकर्षण
धनगढीः सुदूरपश्चिम प्रदेश युवा सञ्जालले प्रदेशमा देखिएका विद्यमान समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ। सञ्जालले आज कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी समक्ष ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्र बुझाउँदै सञ्जालका अध्यक्ष युवराज जोशीले सुदूरपश्चिम प्रदेशमा विशेषगरी वर्षायाममा हुने बाढी तथा डुवान, सडक र पूर्वाधारको कमजोर अवस्था, खानेपानी तथा सरसफाइको समस्या, स्वास्थ्य सेवाको अभाव, शिक्षा क्षेत्रमा देखिएका चुनौती, गरिबी र बेरोजगारी, वन विनाश तथा वातावरणीय समस्या, साथै लागूऔषध दुर्व्यसनजस्ता गम्भीर समस्या रहेको उल्लेख गरे।
ज्ञापनपत्रमार्फत सञ्जालले बाढी नियन्त्रणका लागि दीर्घकालीन तटबन्ध निर्माण, सडक तथा अन्य पूर्वाधार विकासका योजनाको प्रभावकारी कार्यान्वयन, सरसफाइ कार्यक्रम विस्तार, स्वास्थ्य संस्थाको सुदृढीकरण तथा आवश्यक जनशक्ति व्यवस्थापन गर्न माग गरेको छ। साथै युवालाई लक्षित रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याउन पनि सरकारसँग आग्रह गरिएको छ।
प्रदेशको समग्र विकास र नागरिकको जीवनस्तर सुधारका लागि यी समस्या तत्काल समाधान गर्नुपर्नेमा सञ्जालले जोड दिएको छ।