दोधारा–चाँदनी चारलेन पक्की पुल निर्माण पुनः सञ्चालनबारे मन्त्रालयमा छलफल
कञ्चनपुर: दोधारा–चाँदनी क्षेत्रमा निर्माणाधीन चारलेन पक्की पुलको हालसम्मको प्रगति र केही समयदेखि रोकिएको निर्माण कार्य पुनः सञ्चालन गर्ने विषयमा प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र सिंह महतको पहलमा भौतिक पूर्वाधार विकास मन्त्रालयमा छलफल सम्पन्न भएको छ।
छलफलमा महाकाली पुल आयोजनाका निर्देशक थानेश्वर खत्री र निमित्त आयोजना प्रमुख नेत्र देवकोटासँग पुल निर्माणको वर्तमान अवस्था, देखिएका प्राविधिक तथा प्रशासनिक अवरोध तथा ती समस्या समाधान गरी यथाशीघ्र काम अघि बढाउने विषयमा केन्द्रित रहेर विचार–विमर्श गरिएको थियो। निर्माण कार्यलाई तीव्रता दिने, आवश्यक समन्वय बढाउने र समयमै आयोजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
यसैक्रममा पुल निर्माण क्षेत्र नजिकै महाकाली नदीले भुजेला खोलाको बहाव अवरुद्ध गर्दा भीमदत्त नगरपालिकाका वडा नं. ११, १२ र १३ मा देखिँदै आएको डुबान समस्याप्रति सांसद महतले गम्भीर ध्यानाकर्षण गराएका छन्। उनले दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी समयमै प्रभावकारी निकास व्यवस्था मिलाउन सुझाव दिएका छन्।
स्थानीय जनताको प्रत्यक्ष सरोकार जोडिएको यस महत्वपूर्ण पूर्वाधार आयोजनालाई अविलम्ब अघि बढाउनुपर्ने र सम्भावित विपद् जोखिम न्यूनीकरणलाई समेत प्राथमिकतामा राख्नुपर्नेमा छलफलमा जोड दिइएको छ।