सुदूर नेपाललाई विश्वसँग जोड्दै

सर्वोच्चको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा पक्षको रिट खारेज

एआई प्रविधि प्रयोग गरी निर्मित तस्विर
एआई प्रविधि प्रयोग गरी निर्मित तस्विर
२०८३ वैशाख ४, १०:२७ खबर संवाददाता

काठमाडौँः सर्वोच्च अदालतले नेपाली काँग्रेसभित्रको विवादमा गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको छ।

न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले विशेष महाधिवेशनलाई मान्यता दिने आयोगको निर्णय कानुनसम्मत ठहर गरेको हो। यससँगै उक्त महाधिवेशनलाई अस्वीकार गर्नुपर्ने माग राख्दै आएको शेरबहादुर देउवा समूहको दाबी अप्रत्यक्ष रूपमा खारेज भएको छ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले संक्षिप्त आदेश सार्वजनिक गरिरहेका छन्। अदालतले पूर्णबहादुर खड्का द्वारा दायर रिट निवेदन खारेज भएको जनाएको छ।

यस निर्णयसँगै विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिले गरेका कामकारवाहीले निरन्तर वैधानिक मान्यता पाउने भएको छ।

शुक्रबार थापा पक्षका तर्फबाट हरिहर दाहाल, सीताराम केसी, गोपालकृष्ण घिमिरे, सेमन्त दाहाल, दीनमणि पोखरेल, चन्द्रकान्त ज्ञवाली, पूर्णमान शाक्य, शैलेन्द्र दाहाल र यदुनाथ खनालसहितका अधिवक्ताले बहस गरेका थिए।

देउवा पक्षबाट रमेश बडाल, रमण श्रेष्ठ र गोविन्द बन्दीसहितका अधिवक्ताहरूले बहस गरेका थिए।

गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले वैधानिकता दिएपछि देउवा समूह त्यसविरुद्ध सर्वोच्च अदालत पुगेको थियो।

कमेन्ट लोड गर्नुस