धनगढीमा मातातीर्थ औँसीको अवसरमा गरियो मातृ सम्मान
धनगढीः सुदूर नेपाल संस्कृति सेवा समाजले बैशाख कृष्ण औंसी अर्थात् मातातीर्थ औंशीको अवसर पारेर ज्येष्ठ आमाहरूलाई सम्मान गरेको छ। 'धर्म संस्कृति जोगाऔँ, आफ्नो अस्तित्व बचाऔँ' भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा ७९ वर्षदेखि ८० वर्षभन्दा माथिका आमाहरूलाई विशेष सम्मान प्रदान गरिएको हो।
समाजका अनुसार पछिल्लो समय छोराछोरी आफ्नो काममा व्यस्त रहने र बाँकी समय सामाजिक सञ्जालमै बिताउने प्रवृत्ति बढ्दो छ। यसले गर्दा आमाबुवालाई समय दिन नसक्ने अवस्था सिर्जना भएको छ। यस्तै अवस्थाप्रति सचेत गराउँदै परिवारका सदस्यहरूलाई आमाबुवाको महत्व बुझाउन यस्तो कार्यक्रम आयोजना गरिएको बताइएको छ।
सम्मान कार्यक्रममा सहभागी एक ज्येष्ठ आमाले आफ्ना सन्तानले वृद्ध आमाबुवालाई वृद्धाश्रममा छोडेको खबर सुन्दा निकै दुःख लाग्ने बताइन्। उनले भविष्यमा आफूमाथि पनि यस्तै अवस्था आउला कि भन्ने चिन्ता व्यक्त गरिन्। आमाबुवाको चाहना भनेको सन्तानले केही समय आफ्नै साथमा बिताइदिउन् भन्ने रहेको उनले बताइन्।
पारिवारिक विवाद र दूरीका कारण सम्बन्ध कमजोर बन्दै गएको गुनासो पनि कार्यक्रममा उठाइएको थियो। बाँचुन्जेल सबैले मिलेर जीवन बिताउनुपर्ने ज्येष्ठ आमाहरूको धारणा थियो।
लक्ष्मीनारायण मन्दिरका गुरु कृष्ण प्रपन्नाचार्यले वृद्ध अवस्थाका आमाबुवाको मन दुखाउनु जीवनकै ठूलो पाप हुने बताए। उनका अनुसार आमा भगवतीको स्वरूप हुन्, र उनीहरूलाई सन्तुष्ट पार्न सके जीवन सफल र अर्थपूर्ण बन्छ। धर्मशास्त्रले आमालाई ‘जगत् जननी’को रूपमा व्याख्या गरेको उनले स्मरण गराए।
२०७८ सालदेखि सामाजिक कार्यमा सक्रिय रहेको संस्थाले नयाँ पुस्तालाई पारिवारिक मूल्य र सामाजिक उत्तरदायित्वबारे सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको समाजका अध्यक्ष हेम अधिकारीले जानकारी दिए।
मन्दिर परिसरमा सम्मान पाउँदा ज्येष्ठ आमाहरू अत्यन्तै खुसी देखिन्थे। उनीहरूले परिवारमा एकता र सद्भाव कायम रहोस् भन्ने कामना व्यक्त गरे। साथै, आमाबुवाको अवस्था बुझ्नु र उनीहरूको उचित हेरचाह गर्नु सन्तानको नैतिक कर्तव्य भएको सन्देश कार्यक्रममा दिइयो।