सुदूर नेपाललाई विश्वसँग जोड्दै

ज्यान सम्बन्धी मुद्दामा कञ्चनपुरमा पालिका उपाध्यक्ष नाथ पक्राउ 

२०८३ वैशाख ४, ११:४७ खबर संवाददाता

धनगढीः कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथलाई ज्यानसम्बन्धी गम्भीर आरोपमा प्रहरीले पक्राउ गरेको छ। उनीविरुद्ध दर्ता भएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।

मृतक हरकिशन रानाकी पत्नी फिरियादेवी रानाले दिएको जाहेरीमा नाथमाथि योजनाबद्ध रूपमा धम्की दिने, आर्थिक दबाब सिर्जना गर्ने तथा अन्ततः ज्यान मार्ने षड्यन्त्र गरेको आरोप उल्लेख गरिएको छ। जाहेरीअनुसार कृषि अनुदान दिलाउने बहानामा मृतकसँग ठूलो रकम असुल्ने प्रयास गरिएको र रकम नदिँदा निरन्तर ज्यान मार्ने धम्की दिइएको दाबी गरिएको छ।

पीडित परिवारका अनुसार ४० लाख रुपैयाँको अनुदान प्रक्रियामा संलग्न गराएर मृतकबाट करिब ४७–४८ लाख रुपैयाँ खर्च गराइएको थियो। त्यसपछि १२ लाख रुपैयाँ चेक र थप ४ लाख नगद माग गरिएको तर रकम दिन नसक्दा धम्की झन् तीव्र भएको परिवारको भनाइ छ।

९ वैशाख २०८२ मा बेलौरी नगरपालिका–१० शिवनगरस्थित निर्मल आर्यघाट नजिक हरकिशन रानाको शव जलेको अवस्थामा फेला परेको थियो। घटनास्थलमा मोटरसाइकल पनि जलेको अवस्थामा भेटिएको थियो। परिवारले यसलाई सुनियोजित हत्या भएको भन्दै निष्पक्ष छानबिनको माग गरेको छ।

प्रहरीले घटनासम्बन्धी सर्जमिन मुचुल्का, सेती प्रादेशिक अस्पतालको शव परीक्षण प्रतिवेदन लगायतका प्रमाण संकलन गरी अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ। चेक प्रकरणमा अन्य व्यक्तिको पनि संलग्नता हुन सक्ने आशंकामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी हेम शाहीले जानकारी दिए।

कमेन्ट लोड गर्नुस