धनगढी उपमहानगरपालिकामा वैशाख ४ देखि भर्ना अभियान, १४ गतेदेखि पठनपाठन सुरु
धनगढी: धनगढी उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा २०८३ सालको भर्ना अभियान वैशाख ४ गतेदेखि सुरु हुने जनाएको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वैशाख १५ गतेदेखि भर्ना अभियान र २१ गतेदेखि कक्षा सञ्चालन गर्न स्थानीय तहहरूलाई परिपत्र गरे पनि त्यसले विद्यार्थीको अध्ययन–अध्यापनमा अवरोध हुने, पाठ्यक्रमअनुसारको वार्षिक कार्यघण्टी नपुग्ने, शिक्षाको गुणस्तरमा ह्रास आउने र विद्यालयमा अध्ययन–अध्यापन हुने दिन नपुग्ने देखिएको उपमहानगरपालिकाले जनाएको छ।
यसै सन्दर्भमा उपमहानगरपालिकाले विभिन्न सरोकारवालासँग छलफल गरी २०८३ वैशाख ३ गते सम्पन्न नगर शिक्षा समितिको निर्णयअनुसार धनगढी उपमहानगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा भर्ना अभियान र अध्ययन–अध्यापन सुरु गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार वैशाख ४ गतेदेखि ११ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने र वैशाख १४ गतेदेखि नियमित अध्ययन–अध्यापन कार्य सुरु गरिने उपमहानगरपालिकाले जनाएको छ।
साथै, नगर शिक्षा समितिको सोही निर्णयअनुसार उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूले विद्यार्थी भर्ना तथा अध्ययन–अध्यापन कार्य तोकिएको मितिअनुसार अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने जानकारी पत्रमार्फत गराइएको छ।