बझाङमा डुबेर दुई बालबालिकाको मृत्यु, खाल्डोमा जमेको पानी बन्यो काल
बझाङ: बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयकाले दिएको जानकारीअनुसार वित्थडचिर गाउँपालिका–१ माथिल्लो वित्थडस्थित माल्थिलो क्षेत्रमा घर निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर उनीहरूको ज्यान गएको हो।
आज बिहान करिब ११ बजेदेखि हराइरहेका ती बालबालिकाको खोजी गर्ने क्रममा दिउँसो करिब २ बजे सोही खाल्डोमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक विष्टका अनुसार डुबेर ज्यान गुमाउनेमा बित्थडचिर-१ का गगन बोहराका अन्दाजी ५ वर्षीय छोरा दिनेश बोहरा र सोही स्थानकै सन्तोष बोहराकी अन्दाजी ६ वर्षीया छोरी पिन्सा बोहरा रहेका छन्।
स्थानीय र प्रहरीले उनीहरूको खोजी गरेको थियो। घर निर्माण गर्न खनेको खाल्डोमा जमेको पानीमा डुबेर दुबैको ज्यान गएको प्रहरीले जनाएको छ।