सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको जानकी गाउँपालिकामा आपतकालीन आश्रयस्थल निर्माण

२०८३ वैशाख १, ०२:५७ खबर संवाददाता

कैलालीः विपत् प्रभावित समुदायलाई सुरक्षित वासस्थानका लागि कैलालीको जानकी गाउँपालिकामा आश्रयस्थल तयार भएको छ । जानकी गाउँपालिका–९, खैरीफाँटमा आश्रयस्थल बनेको हो । बहुउद्देश्यीय समावेशी सुरक्षित आश्रयस्थल नाम दिइएको भवन दुई तलाको छ ।

कर्णाली र कुलरिया नदीमा आउने बाढीबाट प्रभावित २०४ घरधुरीलाई लक्षित गरी बनाएको भवनबाट ६८ परिवारले प्रत्यक्ष र १३६ परिवारले अप्रत्यक्ष रूपमा लाभ पाउने अपेक्षा गरिएको छ । कुल एक करोड ११ लाख १३ हजार रुपियाँ लागतमा बनेको बहुउद्देश्यीय भवनमा विपत्को अवस्थामा सुरक्षित आश्रयस्थल, आगलागी, शीतलहर जस्ता प्रकोपबाट प्रभावितलाई अस्थायी आवास, आइसोलेसन, तालिमलगायतका कामका लागि प्रयोग गर्न सकिने छ ।

भवनभित्र एउटा बहुउद्देश्यीय हल, पुरुष र महिलाका लागि अलग अलग दुई वटा हल, एउटा आइसोलेसन कोठा, एउटा बहुउद्देश्यीय कोठा, हरेक तला र हलमा अपाङ्गतामैत्री शौचालय बनाइएको छ । पानी, विद्युतको सुविधा भएको यो भवन अरुणोदय माविको जग्गामा बनाइएको हो । ‘हरेक वर्ष बाढीको जोखिममा परेकालाई उद्धार गरी विद्यालयमा ल्याएर राख्नु पर्छ,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरालाल भाटले भने,‘अब यसरी बस्नेलाई छुट्टै भवन तयार भयो । अरूबेला विद्यालय र समुदायले पनि प्रयोग गर्न पाउने छन् ।’ 

आश्रयस्थल परराष्ट्र मन्त्रालय जापान, वल्र्ड भिजन जापानको आर्थिक सहयोगमा सामाजिक विकासका लागि सचेत समाज धनगढीले तयार गरी जानकी गाउँपालिकालाई हस्तान्तरण गरिसकेको छ । गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले विपतबाट बच्न पूर्वतयारीको अभियानमा साथ दिएकोमा जापान सरकारलाई धन्यवाद दिए। 

नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्न लागेको सन्दर्भमा जलवायु परिवर्तनले देखा परेका लु, शीतलहर र बाढी जस्ता समस्यासँग जुध्न र प्रभावित समुदायलाई विपत् प्रतिकार्यमा सहयोग पु¥याउने उद्देश्यले भवन बनाइएको वल्र्ड भिजन जापानका प्रमुख मारी इटोले बताए।   
 

कमेन्ट लोड गर्नुस