सुदूर नेपाललाई विश्वसँग जोड्दै

दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने कृष्ण दमाईलाई धनगढीले दियो यस्तो जिम्मेवारी

२०८३ वैशाख १, ०६:४८ खबर संवाददाता

धनगढी: नेपालमै पहिलोपटक दलित समुदायबाट संस्कृतमा आचार्य (स्नातकोत्तर) गरेका विद्वान कृष्ण बहादुर दमाईलाई धनगढी उपमहानगरपालिकाले विशेष जिम्मेवारी सुम्पेको छ।

उपमहानगरपालिकाले उनलाई शिक्षाको माध्यमबाट छुवाछुत अन्त्य गर्ने अभियानको संयोजक नियुक्त गरेपछि उनी काम पनि गरिरहेका छन्। यसअघि गत भदौ ८ गते उपमहानगरपालिकाले एक विशेष कार्यक्रमको आयोजना गरी आचार्य दमाईलाई सम्मान गरेको थियो। नगर प्रमुख गोपाल हमालले उनलाई सम्मानपत्रसहित १ लाख ५१ हजार रुपैयाँ नगद हस्तान्तरण गरेका थिए। 

कञ्चनपुरको भीमदत्त नगरपालिका–३ घर भएका दमाईले आर्थिक अभावका कारण समस्या झेल्नुपरेको र रोजगारीको खोजीमा रहेको खबर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नगर प्रमुख हमालले उनलाई सहयोग र रोजगारीको घोषणा गरेका थिए । बाजागाजासहित नगरसभा हलमा आयोजित स्वागत कार्यक्रममा नगर प्रमुख, कार्यपालिका सदस्य र कर्मचारीहरूले उनलाई भव्य स्वागत गरेका थिए। सोही अवसरमा नगर प्रमुख हमालले दमाईलाई उपमहानगरमा रोजगारी दिने प्रतिबद्धता समेत जनाएका थिए।

नेपाल संस्कृत विश्वविद्यालयबाट संस्कृत साहित्यमा आचार्य गरेका दमाई शिल्पी समुदायबाट यो तहको शिक्षा हासिल गर्ने नेपालकै पहिलो व्यक्ति हुन्। उनलाई अहिले उपमहानगरपालिकाले समाजमा व्याप्त जातीय विभेद र छुवाछुतलाई शिक्षाको माध्यमबाट अन्त्य गर्ने महत्त्वपूर्ण जिम्मेवारी दिएपछि सो अभियानको नेतृत्व गरे बापत उनले पारिश्रमिक समेत पाइरहेका छन्।  

नगर प्रमुख गोपाल हमालले आचार्य दमाई जस्तो विद्वान व्यक्तिले समाज रूपान्तरणमा ठुलो भूमिका खेल्न सक्ने बताएका छन्। ‘उहाँजस्तो विद्वानले भोलि समाज शिक्षित बनाउन लाग्नुहुनेछ भन्ने हाम्रो विश्वास छ। शिक्षाको माध्यमबाट छुवाछुत हटाउन उहाँले निर्वाह गर्ने भूमिकाले उपमहानगरको अभियानमा ठुलो साथ मिल्नेछ,’उनले भने।

कमेन्ट लोड गर्नुस