सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको बाउलीखोलामा निर्माणाधीन पक्की पुलको काम पाँच वर्षदेखि अलपत्र

२०८२ चैत्र ३०, ०३:५३

बाजुराः बाजुराको बाउलीखोलामा निर्माणाधीन पक्की पुलको काम पाँच वर्षदेखि अलपत्र परेको छ। पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको लापरबाहीका कारण काम अघि बढ्न नसकेको हो।

२०७८ कात्तिक १५ गतेदेखि निर्माण सुरु भएको उक्त पुल अझै सम्पन्न हुन सकेको छैन। पाँच वर्षसम्म पुल निर्माण अलपत्र पर्दा वर्षायाममा मार्तडीदेखि कोल्टीसम्म आवतजावत गर्ने सवारीसाधनलाई निकै समस्या हुने गरेको छ।
धनगढीस्थित टिडिआर–जुगलकौशिक जेभी ले २०७८ कात्तिक १५ गते पाँच करोड ५८ लाख ८८ हजार २ सय ७० रुपियाँमा ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार पुल २०७८ फागुन १५ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो। तर कम्पनीको लापरबाहीका कारण काम समयमा सम्पन्न हुन सकेन।

निर्माण सम्पन्न नभएपछि सडक डिभिजन कार्यालय अछामले दोस्रो पटक २०८२ फागुन ३० गतेसम्मका लागि म्याद थप गरेको थियो। उक्त थपिएको म्याद पनि सकिँदा समेत पुल निर्माणको काम अझै पूरा भएको छैन। ठेकेदार कम्पनीले भने ९० लाख ५६ हजार रुपियाँभन्दा बढी भुक्तानी लिइसकेको सडक डिभिजन कार्यालय अछामले जनाएको छ।

बाउलीखोला मार्तडी–कोल्टी सडकको बिच भागमा पर्छ। वर्षायाममा खोलामा पानीको बहाव अत्यधिक बढ्ने भएकाले स्थानीयलाई ज्यान जोखिममा राखेर खोला वारपार गर्नुपर्ने अवस्था रहेको छ।

यही समस्यालाई समाधान गर्न सरकारले बाउलीखोलामा पक्की पुल निर्माणका लागि बजेट विनियोजन गरेको थियो। तर ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण हालसम्म पुलको एक पिलरसमेत बन्न सकेको छैन। यसले स्थानीय थप आक्रोशित बनेका छन्।

पुल निर्माणका नाममा खोलामा ठूलो खाल्डो पारिएकाले हिउँदमा समेत सवारीसाधन आवतजावत गर्न समस्या हुने गरेको स्थानीय प्रेम रावत ले बताए। उनका अनुसार बुढीनन्दा क्षेत्रको पाण्डुसैनमा भदौदेखि असोजसम्म स्याउ पाक्ने समयमा खोला बढ्दा गाडी मार्तडीमै रोकिने गर्छन्, जसका कारण किसानलाई स्याउ बिक्री गर्न समस्या हुने गरेको छ।

टिडिआर–जुगलकौशिक जेभीका सञ्चालक नरेश ओझाले अर्कोलाई कामको जिम्मा दिँदा केही ढिलाइ भएको स्वीकार गर्दै अब बाँकी काम आफैंले गर्ने बताए। उनले केही महिनाभित्र पिलर र वाल निर्माण गरी आउँदो हिउँदमा स्ल्याब हाल्ने योजना रहेको जानकारी दिएका छन्। 

सडक डिभिजन कार्यालय अछामका इन्जिनियर सुभाष साहले २०७८ फागुनमै सम्पन्न हुनुपर्ने काम पाँच वर्ष बित्दासमेत नसकिएको बताए। उनका अनुसार थपिएको म्याद पनि गत फागुन ३० गते सकिइसकेको छ।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले पुल चाँडो निर्माण गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइएको बताए। उनका अनुसार वैशाख–जेठभित्र पिलर खडा गर्ने गरी काम सुरु गरिएको छ। यदि प्रतिबद्धताअनुसार काम नभए ठेकेदारलाई कालोसूचीमा राखेर ठेक्का तोडिनेछ। -गाेरखापत्र
 

कमेन्ट लोड गर्नुस