सुदूर नेपाललाई विश्वसँग जोड्दै

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

२०८२ चैत्र २९, ०३:२४ रासस

हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको भीडभाडपछि उत्पन्न भागदौडमा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। स्थानीय मिडियाका अनुसार घटनापछि सरकारले गहिरो दुःख व्यक्त गर्दै अनुसन्धान अघि बढाएको छ।

सरकारी अधिकारीहरूले फेसबुकमार्फत जारी गरेको विज्ञप्तिमा यो घटना शनिबार मिलोटस्थित युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत १९ औँ शताब्दीको किल्लामा भएको ‘पर्यटकीय गतिविधि’ का क्रममा भएको जनाएका छन्। उक्त स्थलमा धेरै युवाहरू सहभागी भएका कार्यक्रमका बेला अचानक भीड नियन्त्रणबाहिर जाँदा दुर्घटना भएको बताइएको छ।

हाइटीको उत्तरी नागरिक सुरक्षा विभागका प्रमुख जिन हेनरी पेटिटले स्थानीय पत्रिका नोभेलिस्टलाई दिएको जानकारीअनुसार प्रारम्भिक रूपमा कम्तीमा ३० जनाको मृत्यु पुष्टि भएको छ। उनले अझै ठूलो सङ्ख्यामा मानिसहरू हराइरहेकाले मृतक सङ्ख्या बढ्न सक्ने बताए।

घटनामा घाइते भएका दर्जनौँलाई नजिकका अस्पतालहरूमा भर्ना गरिएको छ। यद्यपि, घाइतेहरूको यकिन सङ्ख्या सार्वजनिक गरिएको छैन।

प्रारम्भिक विवरणअनुसार पर्यटकहरूलाई प्रवेशद्वारमा अत्यधिक भीडमा जम्मा गरिएको थियो । सोही क्रममा किल्लाबाट बाहिर निस्कन र प्रवेश गर्न खोज्ने समूहबीच ठेलमठेल हुँदा स्थिति नियन्त्रणबाहिर गएको बताइएको छ, जसले गर्दा भागदौड मच्चिएको हो ।

सरकारले घटनाको छानबिन जारी रहेको बताउँदै नागरिकहरूलाई संयमित र सतर्क रहन आग्रह गरेको छ । विज्ञप्तिमा सबै सम्बन्धित निकायहरूलाई तत्काल परिचालन गरिएको उल्लेख गर्दै पीडितहरूलाई आवश्यक सहयोग, उपचार र राहत प्रदान गर्न उच्च सतर्कता अपनाइएको जनाइएको छ ।

हाइटी सरकारले घटनाबारे विस्तृत अनुसन्धान अघि बढाइरहेको जनाएको छ भने थप विवरणहरू सङ्कलन भइरहेका छन् ।

कमेन्ट लोड गर्नुस