सुदूर नेपाललाई विश्वसँग जोड्दै

सञ्चार क्षेत्रको संरक्षण र संवर्द्धन गर्नु सरकारको दायित्व होः मुख्यमन्त्री शाह

२०८२ चैत्र २७, ०६:५२ खबर संवाददाता

अत्तरियाः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सञ्चार क्षेत्रको संरक्षण र संवर्द्धन गर्नु सरकारको दायित्व भएको बताए।

सरकारले सरकारी सूचना सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन/प्रसारण गर्न/गराउन गरेको परिपत्र सच्याउन माग गर्दै नेपाल पत्रकार महासङ्घले सुरु गरेको दबाबमूलक कार्यक्रमअन्तर्गत आज महासङ्घको सुदूरपश्चिम प्रदेश समिति र कैलाली शाखाद्वारा धनगढीमा आयोजित छलफलमा उनले सञ्चार क्षेत्र राज्यको चौथो अङ्गका रूपमा रहेको बताए।

मुख्यमन्त्री शाहले भन्नुभयो, 'सञ्चार क्षेत्रले सङ्घीयता, लोकतन्त्र, गणतन्त्रका लागि खेलेको भूमिका महत्त्वपूर्ण छ। राज्यले चौथो अङ्गका रूपमा लिएको पत्रकारिताको संरक्षण र संवर्द्धन गर्न सरकारले विशेष योजनासहित स्पष्ट नीति बनाउनुपर्छ।' उनले कोही पनि मर्कामा नपर्ने गरी नीति बनाउनुपर्ने आवश्यकता औँल्याए। 

मुख्यमन्त्री शाहले सञ्चार क्षेत्रको संरक्षण नभए वा कमजोर भएमा लोकतन्त्र पनि कमजोर बन्ने धारणा राखे। पछिल्लो समय सङ्घीय सरकारले सरकारी सूचना÷विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्रै प्रकाशन/प्रसारण गर्न जारी गरेको परिपत्रले निजी क्षेत्रका सञ्चारमाध्यममा असहजता सृजना भएको बताउँदै उनले सबैको सहजता र सबैलाई मान्य हुने नीति सरकारले ल्याउने विश्वास व्यक्त गरे।

मुख्यमन्त्री शाहले केही दिनअघि सुदूरपश्चिम प्रदेशसभामा आमसञ्चार विधेयक टेबुल भएको बताउँदै सञ्चार क्षेत्रको समग्र विकासका लागि विधेयक थप परिमार्जित र संशोधन गर्ने सम्बन्धमा प्रदेश सरकार प्रतिबद्ध र स्पष्ट रहेको बताए।

कमेन्ट लोड गर्नुस