सन्तुलित बजेट ल्याउने मुख्यमन्त्री शाहको घोषणा, २५ लाखभन्दा कमका योजना नसमेटिने
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सन्तुलित बजेट निर्माणको मोडालिटी तयार गरिने बताएका छन्।
शुक्रबार प्रदेश नीति तथा योजना आयोगद्वारा आयोजित दुई दिने अभिमुखिकरण कार्यशालाको समापन कार्यक्रममा बोल्दै उनले आवश्यकता र प्राथमिकताका आधारमा सबै स्थानीय तह समेटिने गरी बजेट विनियोजन गरिने स्पष्ट पारे। समपूरक तथा विशेष अनुदान प्रस्ताव तयारी सम्बन्धी उक्त कार्यक्रममा उनले प्रदेश सरकारको बजेट वितरणलाई थप प्रभावकारी र सन्तुलित बनाइने धारणा राखे।
मुख्यमन्त्री शाहले २५ लाख रुपैयाँभन्दा कम लागतका आयोजनामा बजेट विनियोजन नगर्ने र उपभोक्ता समिति मार्फत काम नगर्ने निर्णय भए पनि प्रचलित खरिद ऐन, नियमावली तथा अन्य कानुनी प्रावधानका कारण कार्यान्वयनमा चुनौती देखिएको उल्लेख गरे।
यसैबीच, जिल्ला समन्वय समिति कैलालीको दशौँ जिल्ला सभा समारोह उद्घाटन गर्दै उनले जनताका गुनासा सम्बोधन गर्न स्थानीय तहलाई वित्तीय हस्तान्तरण र विभिन्न कार्यक्रममार्फत सशक्त बनाइएको बताए। उनले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय, छलफल र सहमतिका आधारमा अघि बढ्नुपर्नेमा जोड दिए।