बस दुर्घटनामा २६ जना घाइते
कपिलवस्तुः पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन्।
नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे१ख ४३७३ नम्बरको बस राति अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्र सिंहले जानकारी दिए। दुर्घटना लगत्तै यात्रुको उद्धार गरिएको उनले बताए।
घाइतेमध्ये १७ जनाको चन्द्रौटास्थित सञ्जीवनी अस्पतालमा तथा तीन जनाको आधारभूत अस्पतालमा उपचार भइरहेको छ। वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार अन्य ६ जनाको बुटवलमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको उनले बताए।